अविरल वर्षापछि मर्स्याङदी नदीमा आएको बाढी । तस्बिरः रासस
काठमाण्डु – बाढी पूर्वानुमान महाशाखाले सोमबारसम्म बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वीराप्ती नदीको जलसतह उल्लेख्य बढ्ने सूचना जारी गर्दैै जनाएको छ ।
महाशाखाका अनुसार आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ । त्यस्तै आइतबार र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान महाशाखाले गरेको छ ।
नारायणी, कोशी र महाकालीमा उच्च जोखिम र कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।
नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङमा मध्य जोखिम रहेको सूचनामा उल्लेख छ ।
सोमबार देशका अधिकांश स्थानका साना नदीहरुमा बहाज बढ्ने र कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम रहेको महाशाखाले बताएको छ ।
प्रतिक्रिया