हिमाल चढ्न बहराइनका राजकुमारको टोली काठमाण्डु आइपुग्यो


काठमाण्डु – नेपालको हिमाल चढ्न बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली काठमाण्डु आइपुगेको छ । राजकुमारको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।

कोरोना महामारीका बेला बहराइनका राजकुमार सहित १८ जनाको टोली हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको थियो ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहेको छ । दुई महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्व तयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ ।

सो​ टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७/०५/१४ मा नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

पर्यटन विभागका अनुसार, यो टोलीका प्रायः सबै सदस्य बहराइनको सैनिकसँग आबद्ध छन् । बहराइनी राजकुमार आफै पनि बहराइन सैनिक (बहराइन गार्ड) का कमाण्डर हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement