वैशाख १ देखि रारा कर्णाली पर्यटन वर्ष


काठमाडौँ- रारा कर्णाली पर्यटन वर्ष आगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ ।

कर्णालीको इतिहास, सभ्यता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई बाहिर ल्याउन पर्यटन वर्ष मनाउन लागिएको आज यहाँ कर्णाली प्रदेश सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रचार संयोजक दल रावलले बताए ।

प्राङ्गारिक कृषि तथा पर्यटनका कार्यक्रम क्रमशः अघि बढाइने पनि बताइएको छ । हाल वार्षिक रुपमा कर्णालीमा ५० हजार मात्र पर्यटक आउने गरेकामा अबको एक वर्षभित्र पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

रावलले भने, “नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि समयमा आवश्यक पूर्वाधार र सेवासुविधा उपलब्ध गराउन नसक्दा पर्यटकको आकर्षक केन्द्र बन्न सकेको छैन । मुगुको रारा ताल, रारा राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो ताल, बाला त्रिपुरासुन्दरी, काँक्रेविहार, मानसरोवर र नेपालका विभिन्न जातिका ३२ थरको उद्गमस्थलका रुपमा रहेको कर्णाली प्रदेशलाई पर्यटकको केन्द्र बनाउनुपर्छ । ”

नेपाल पर्यटन बोडका कार्यकारी प्रमुख दीपकराज जोशीले त्यस स्थानमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयवासीले सहयोग गरेमा बोर्डले सहयोग गर्ने आश्वासन दिए । कर्णाली प्रदेशका सहभागीले भौगोलिक रुपमा विकट सो प्रदेशमा लक्ष्यअनुरुप पर्यटक भित्र्याउन सबैभन्दा पहिले यातायातको सहज पहुँचका लागि पहल गरिनुपर्नेमा जोड दिएका थिए ।

रासस

प्रतिक्रिया दिनुहोस
Advertisement