बैतडीमा मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, ९ जना विरामी


बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका–२ मा मरेको कुखुराको मासु खाँदा एक जनाको मृत्यु भएको छ भने ९ जना बिरामी परेका छन् । जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान जानुका साथै एकै परिवारको ९ जना बिरामी परेका हुन् ।

शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको उनले बताए । शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार ज्यान गएकोे पन्तले जानकारी दिए ।

कुखुराको मासु सेवनपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement