जनता कुट्ने कर्मचारीलाई मेयर धामीकै संरक्षण (अन्तर्वार्तासहित)


 काठमाण्डु- गत असार २८ गते मात्रै बझाङको बुङ्गल नगरपालिका-४ स्थित स्थानीय विजगडा बजारमा मेयर जयबहादुर धामीले जिपका चालकमाथि हातपात गरेको भिडियो सार्वजनिक भयो ।

नगरप्रमुख धामी आफ्नो गाडीलाई जिप चालकले ओभरटेक गरेर पेट्रोल हालेको भन्दै उनीमाथि असभ्य व्यवहार गरेका थिए । यो घटनाले सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो । यो घटनाको केही दिनपछि विहीबार उनकै मातहतका कर्मचारीले अर्का स्थानीय रामचन्द्र जोशीमाथि आक्रमण गरेका छन् ।

बिहीबार नगरपालिकाको सोही बजारमा स्थानीय युवा जोशीमाथि करार कर्मचारी सूचना प्रविधि शाखा प्रमुख रमेश कार्किले भौतिक आक्रमण गरेका हुन् । जोशीले नगरपालिकाको कार्यालय समयमा कोही नभएको भन्दै भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए । सोही विषयलाई लिएर जोशीमाथि कुटपिट भएको थियो ।

नागरिकलाई सेवाप्रवाहमा सघाउनुपर्ने कर्मचारीले उल्टै नागरकमाथि कुट्दा नगर कार्यपालिका र मेयर धामी भने मौन छन् । कर्मचारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि बर्खास्त गरेर छानविन गर्नुको सट्टा नगरपालिकाका मेयर उल्टै संरक्षणमा छन् । हालसम्म कुटपिटको विषयमा कार्कीमाथि छानबिन गर्न नगरपालिकाले कुनै पक्रिया अगाडि बढाएको छैन । उल्टै मेयर धामीले भने आइटी प्रमुख कार्कीको बचाउ गरे ।

उनले कार्की र रामचन्द्रबीच विवाद कार्यालयको समयभन्दा बाहिर भएको भन्दै कार्कीको बचाउ गरेका हुन् । मेयर धामीले कार्की र रामचन्द्रबीच विवाद कार्यालयको समय भन्दा बाहिर भएको बताउँदै नियम कानुनले दोषी ठहर गरे कारबाही हुने बताए । आइटी प्रमुख कार्कीले आफूलाई नक्कली सर्टिफिकेटले जागिर खाएको भन्दै जोशीले मानसिक टर्चर दिने गरेको बताएका छन् । जोशीले भने अघिल्लो दिन नगरपालिकामा सेवाको लागि जाँदा कार्यालय समयमा कोही कर्मचारी नभेटेपछि भिडियो बनाएर फेसबुकमा हालेकै भरमा आक्रमण भएको बताएका छन् ।

उता महालेखा परीक्षकको कार्यालयले समेत कार्कीकाे नाममा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ११ लाख रूपैयाँ बेरूजु देखाएको छ । यही विषयमा केन्द्रीत रहेर मेयर जयबहादुर धामीसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको संवाद :

अस्ति तपाईँले एकजना ड्राइभरमाथि हातपात गर्नुभयो, त्यसको केहि दिनपछि आईटी शाखा प्रमुख रमेश कार्कीले भिडियो बनाएको निहुमा स्थानीय रामचन्द्र जोशीमाथि आक्रमण गरे । बुङ्गल नगरपालिकामा कर्मचारी र जनप्रतिनिधि मिलेर जनतालाई कुट्दै हिड्दा रहेछन् नी ?

अस्ति म हतारमा थिए । अनि मैले उनलाई कुटेको छैन । चिनैकै भाइ हुनाले अलि उता जाऔ भनेर धकेलेको मात्र हो । अनि अर्काे कुरा कार्कीले रामचन्द्रलाई कुटपिट गरेको होइन । उहाँहरुको व्यक्तिगत कुरा होला । कर्मचारी खाजा खान गएको बेला भिडियो बनाएर समाजिक सञ्जालमा भिडियो हाल्ने पनि त राम्रो कुरा होइन । नक्कली सर्टिफिकेटले जागिर खाएको भन्दै जोशीले कार्कीलाई मानसिक टर्चर दिने गर्ने रहेछन् । त्यसकारण विवाद भएको हो ।

प्रश्न सोधेकै आधारमा जनता कुट्ने आईटी शाखा प्रमुख कार्कीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि पदबाट बर्खास्त किन नगरेको ? यसले त तपाईंको नियतमाथि पनि संका उठ्यो नि ?

कसरी मेरो नियतमाथि प्रश्न उठ्यो । तपाईँ के कुरा गर्दै हुनुहुन्छ ।

जनता कुट्ने कर्मचारीलाई संरक्षण गर्नु भएको छ,अहिलेसम्म कारबाही गर्न सक्नु भएन नि ?

अब कार्यालय समयभन्दा बाहिर भएको विषयलाई तपाईँहरु किन नगरपालिकासँग जोड्नुहुन्छ । उहाँहरुको व्यक्तिगत कुरा नगरपालिकासँग जोड्नु भएन नि ।

त्यसोभए  कार्यालय समयभन्दा बाहिर जस्तो सुकै हर्कत गर्दापनि बुङ्गल नगरपालिकाका कर्मचारीलाई छुट हो ?

त्यस्तो पनि होइन । सार्वजनिक पदमा रहेको व्यक्तिले त्यस्तो हर्कत त नगर्नुपर्ने हो । तर, ब्यक्तिगत कुरा हाेला नी ।

जनताले खबरदारी गर्दा उल्टै जनतामाथि आक्रमण गर्ने। बुङ्गल नगरपालिकामा जनताले खबरदारी गर्न पाउँछन् की पाउँदैनन् ?

रामचन्द्र र अन्य जनताले के खबरदारी गरे ? कर्मचारी खाजा खान गएका बेला भिडियो बनाएर सिधैँ फेसबुकमा पोष्ट गर्ने । अनि त्यो खबरदारी हुन्छ ? नक्कली सर्टिफिकेटले जागिर खाएको भन्दै जोशीले कार्कीलाई मानसिक टर्चर दिने गरेपछि विवाद भएको विषयलाई नगरपालिकासँग जोड्नु भएन ।

तपाईँले भरखरै रामचन्द्रले आईटी कार्कीको योग्यताको बारेमा प्रश्न गरेपछि यो विवाद भएको हो भन्नुभयो । कार्कीको योग्यताको प्रमाणपत्र नक्कली हाे भनेर आशंका उब्जिदै गर्दाखेरी तपाईंले छानबिन गर्नुपर्छ कि पर्दैन ?

अस्ति त्यो कुरा पनि उठेको हो । हामीले सबैका सर्टिफिकेट हेरेका थियौँ । अब हामीले छानबिन गर्यौँ भनेर फेसबुकमा पोष्ट गर्ने र मिडियालाई दिने काम गरेनौँ । नगरपालिकाभित्र भने छानबिन गरेका थियौँ ।

नैतिक रूपमा प्रश्न उठेको व्यक्तिलाई अब तपाईंले बोक्दै हिँड्ने हो कि बर्खास्त गरेर लोकसेवा आयोगलाई कोटा पठाएर स्थायी कर्मचारी ल्याउने हो ?

लोकसेवा आयोगलाई हामीले पत्र पठाइसकेका छौँ । तर, दरबन्दी अनुसारको कोटा माग्दा अनुसार विज्ञापन गर्दा पनि कर्मचारी आउँदैनन् । अनि त्यो हाम्रो कमजोरी हो ? बझाङ दुर्गम जिल्ला हो भनेर कर्मचारी आउन मान्दैँनन् । अब स्थानीय आएपछि त अस्थायी कर्मचारी त आफै हटिहाल्छन नि ।

अघिल्लो आर्थिक वर्षमा मात्रै कार्किको नाममा महालेखा परीक्षकको कार्यालयले ११ लाख बेरूजु देखाएको छ । सार्वजनिक रूपमा मान्छे कुट्दै हिड्ने, शैक्षिक योग्यतामाथि प्रश्न उठेको र नैतिक पतन भएको व्यक्तिलाई तपाईंले च्यापिराख्नुको अर्थ यसमा तपाईंको पनि मिलेमतो छैन भन्ने आधार के छ ?

तपाईँ यता सुन्नुहोस् । नैतिक पतन भनेको के हो ? नैतिक पतन भनेको चोरी डकैतीको कुरा हो । कार्यालय समयभन्दा बाहिर झगडाकाे कुरा नैतिक पतन होइन । अर्को कुरा अब उहाँहरुले काम गरेको छ । तर, पनि बिल पेस नगरेका कारण अलिकति बेरुजु देखायो होला । यस विषयमा त नगरपालिकाले छानबिन गर्दैछ ।

तपाईँ अब कार्कीलाई कारबाही गर्नुहुन्छ की गर्नुहुँदैन ?

अब कानुनी रुपमा दोषी देखिए कारबाही हुन्छ । तर, कार्यालय समयभन्दा बाहिर भएको विषयमा कारबाही गर्न मिल्छ की मिल्दैन भन्ने कुरा कानुनमा होला । यदि कानुनमा नै छैन भने हामीले कारबाही गर्न सक्दैँनौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement