बझाङ दुर्घटना अपडेटः चालक जोशी र अङ्गरक्षक भण्डारी खतरामुक्त


काठमाण्डु – बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताएका छन् ।

उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको उनीहरू बोल्न सक्ने अवस्थामा छन् । उपचारका क्रममा एमआरआई र सिटिस्क्यान गरी जाँच गर्दा दुबै जनाको पछाडीको भागको मेरुदण्डमा समस्या देखिएको डा. पोख्रेलले जानकारी दिए।

जोशीको मेरुदण्डको दुई ठाउँमा भाँचिएको छ भने भण्डारीको घाँटीको पछाडीको भागमा रहेको एक ठाउँको हड्डी दबिएको छ । उहाँहरु दुवै जनाको चाँडो शल्यक्रिया गर्नुपर्ने भएपनि परिवारका कुनैपनि सदस्य अस्पतालमा नआइपुगेकाले शल्यक्रिया हुन नसकेको डा. पोख्रेलले बताए ।

उनले भने,“शल्यक्रिया यही पनि गर्न सकिन्छ तर परिवारका सदस्य नआइकन हामीले गर्न मिल्दैन । उहाँहरुको सल्लाहमा हामीले शल्यक्रिया गर्ने हो ।” जोशी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको जीप चालक हुन् भने भण्डारी अङ्गरक्षक हुन् । केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको सोही मेडिकल कलेजमा उपचारका क्रममा मङ्गलबार निधन भएको थियो । दुर्घटनामा मन्त्री पत्नी अमृता र भाउजु पर्ने जयादेवीको पनि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा हिजै बाटोमै मृत्यु भएको थियो ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ९१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा धारछडस्थित सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियाे ।

प्रतिक्रिया दिनुहोस
Advertisement