आकर्षक गुरेल हिमाल : पर्यटक पुर्‍याउनै समस्या (फोटो फिचर)


बझाङ – बझाङको खप्तड छान्ना गाउंपालिका ७ गडरायस्थित गुरेल झर्ना र गुरेल हिमालको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । खप्तड छान्ना गाउँपालिका ७ गडरायबाट करिब आधा घण्टाको पैदल यात्रापछि गुरेयल झर्ना र तीन घण्टाको अबधिमा गुरेल हिमालमा पुगिन्छ ।

गुरेल हिमालबाट कैलाश गुफा, खप्तड राष्टिय निकुञ्ज र मनमोहक पाटनहरु अवलोकन गर्न सकिन्छ । साइपाल हिमाल, सूर्मासरोवर ताल, अछामकाे रामारोशन, बाजुराको बडिमालिका, बैतडीको सिरीभावर, डडेलधुरा, डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाका प्राय सबै ठाउँ नियाल्न  सकिन्छ । अहिँले हिउँ पर्छ भने बर्खायाममा हरियाेले डाडाँकाडाँ रमाइलो देखिन्छ ।

गुरेल हिमाल निकै आकर्षित र ठूलो भए तापनि प्रचार–प्रसार र मुख्य गरी सडक पुर्‍याउन नसक्दा पर्यटक पुग्न नसकेको  स्थानीय बासिन्दाले बताएका छन् । झरना र हिमाल निकै आकर्षक भएकाले यसको प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्नेतर्फ स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने स्थानीय अगुवाहरूको भनाइ छ।

खप्तड छान्ना गाउंपालिका–७ का बुद्धिजीवी गणेश हमालले पर्यटकीय क्षेत्रको विकासको लागि गुरेल झर्ना र गुरेल हिमाल एक कोशेढुंगा सावित हुने बताए । सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न नहुँदा यहाँ पर्यटकका लागि उपयुक्त पूर्वाधार बन्न नसकेको तथा भएका गन्तव्यको समेत प्रचार हुन नसकेको हमालले बताए । निश्चित पर्यटकीय गन्तव्यलाई व्यापक प्रचार र प्रवद्र्धन गरी अन्य गन्तव्यको पनि विकास गर्नुपर्नेमा हमालकाे जोड छ ।

खप्तड छान्ना गाउंपालिका ७ गडरायमा पर्ने गुरेल झर्ना र गुरेल हिमाल प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय रहेका छन् । आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि यो क्षेत्र बाह्रै महिना उपयुक्त छ । गुरेल झर्ना र हिमाल प्रकृतिसँग रमाउन खोज्नेका लागि एक गतिलाे गन्तव्य हो ।

सूर्योदय र सूर्यास्त अझ मनमोहक देखिन्छन् । गुराँस फुल्ने समयमा ‘गुराँस क्लाइमेक्स’ मा रमाउन, हरियालीको समयमा फाटिला चौरसँग आनन्द लिन उत्तिकै आनन्द आउँछ । ‘हाइकिङ’ र ‘ट्राभलिङ’ मा रमाउन चाहनेलाई गन्तव्यको खाँचो छैन तर प्रचारप्रसार छैन, राज्यले बेवास्ता गरेको छ,’ स्थानीय गाेपी खड्काले बताए ।

गुरेल झर्नाको पर्याप्त प्रचार प्रसार नहुँदा पर्यटकहरुको आवागमन हुन सकेको छैन् । समुन्द्र सतहदेखि ३२ सयदेखि ४ हजार मिटरसम्म यसकाे उचाई रहेकाे छ। नेपाल प्राकृतिक सौन्दर्यताको खानी हो । यहाँ प्रकृतिले दिएको अनुपम सुन्दर दृश्यावलोकन गर्न विश्वभरबाट पर्यटक आउने गर्छन् । तराईमा गर्मी हुँदा हिमालमा चिसो हुने नेपालमा एकै समयमा फरक-फरक मौसम रहने गर्छ ।

यस कारण पनि नेपालको हिमालदेखि तराईको समथर भू-भागसम्म मनै लोभ्याउने प्राकृति सुन्दर दृश्यहरु हुने गरेका छन् । जसको प्रवर्धन र संवर्धनको कमीले सोचेको जति बाह्य पर्यटक भित्र्याउन सकेका छैनौँ ।

यो पनि पढनुहोस् विकटता भित्रको सुन्दरता (फोटो फिचर)

-तस्विरहरू: हिक्मत खड्का,सागर खड्का

प्रतिक्रिया दिनुहोस
Advertisement