भ्रष्टाचार गरेकाे भन्दै विप्लवका कार्यकर्ताले गरे अध्यक्ष मल्लमाथि कुटपिट


काठमाण्डु – बझाङमा अपरिचित समुहले वडा अध्यक्षमाथि कुटपिट गरेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा न ८ धरानमा आइतबार साँझ उक्त समूहले वडा कार्यालयभित्र पसेर अध्यक्ष जयबहादुर मल्ललगायत अन्य कर्मचारीहरूमाथि हातपात गरेको हो ।

अपरिचित समूहले आफूसँग १ लाख पचास हजार माग गर्नुकासाथै नदिए ज्यान मार्ने धम्की दिएको अध्यक्ष मल्लले बताए । उक्त समुहले भनेजति रकम दिन नसक्दा आफू लगायत अन्य कर्मचारीमाथि कुटपिट गरेको उनले बताए ।

‘१५-२० जनाको टोली आएर हामी विप्लवका कार्यकर्ता हौँ हामीलाई १ लाख पचास हजार जति चन्दा दिनुहोस भने,। उनीहरूले हामीलाई चन्दा दिन माग गरेपछि हामीले त्यत्रो पैसा कहाँबाट दिन सक्छौँ भन्यौँ,’ अध्यक्ष मल्लले भने, ‘त्यसपछि उनीहरुले हामीमाथि हातपात गर्न थालेपछि गाउँले आएर हामीलाई बचाए । त्यसपछि गाउँलेलाई दुईचार दिनमा हेर्नुहोला लास भेटिने छ भनेर उनीहरु गए । अब हामीले के गर्ने ? हामी तनावमा छौँ ।’

त्यस्तै विप्लव निकट विद्यार्थी संघठन अखिल (क्रान्तिकारी) ले अध्यक्ष मल्ल र वडा सहसचिव दत्तराम अवस्थीले भ्रष्टाचार गरेकाले कारबाही गरेको बताएको छ ।क्रान्तिकारी जिल्ला समिति बझाङका इन्चार्ज संकर खातीले वडा बासिको विकास निर्माणका लागि आएको बजेटमाथि भ्रष्टाचार गरेकाले उनीहरुमाथि कारबारी गरेको बताए ।

इन्चार्ज खातीले भने, ‘ हामीले उनीहरुमाथि हातपात गरेका छैनौँ । अब उनीहरुले भ्रष्टाचार गर्यो भन्ने जनगुनासो आयो । त्यसकारण हामीले जनगुनासोको सम्मान गर्दै उनीहरुमाथि जनकारबाही गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement