काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाएका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गर्दै आगामी दिनमा मौद्रिक नीतिमार्फत् आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिए ।
करिब १ घण्टा भएको छलफलमा उनले सरकार र केन्द्रीय बैंकको सहकार्यबाट मात्र आर्थिक आत्मविश्वास बढाउन सकिने स्पष्ट पारे ।
भेटमा प्रधानमन्त्री शाहले शेयर बजारका लगानीकर्ताको मनोबल बढाउन मौद्रिक नीतिका सीमाहरू खुकुलो पार्न र बैंकको ब्याजदर एवं कर्जा शर्तहरूलाई उद्यममैत्री बनाउन आग्रह गरे । उनले महिला र पिछडिएका क्षेत्रका उद्यमीहरूलाई कर्जा सहुलियतमा विशेष प्राथमिकता दिँदै अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन मौद्रिक उपकरणहरू परिचालन गर्नुपर्नेमा जोड दिए ।
जवाफमा गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिलाई थप अत्यन्त व्यावसायिक र लचिलो बनाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । अर्थतन्त्रलाई गति दिनु नै साझा लक्ष्य रहेको उल्लेख गर्दै उनले शेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म कसैलाई पनि अप्ठ्यारो नपार्ने गरी नीतिगत रूपमा पूर्ण सहजीकरण गर्ने आश्वासन दिए ।




प्रतिक्रिया