काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बाढीका कारण सम्पर्कविहीन भएका मानिसको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खटिरहेको जनाएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै प्रधानमन्त्री शाहले भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको ५ हजार ६०० मिटर उचाइबाट गएको हिमपहिरोका कारण लेदो सहितको आकस्मिक बाढी आएको जनाएका छन् । बाढीले रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको थियो ।
प्रभावित आयोजनाबाट मानिसहरू सम्पर्कविहीन भएपछि सुरुदेखि नै खोज तथा उद्धार कार्य जारी राखिएको प्रधानमन्त्रीले बताए ।
रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावर हाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको प्रधानमन्त्रीले बताए । हेलिकप्टर समेत अवतरण गर्न कठिन भएपछि खोज तथा उद्धारका सामग्री पुर्याउन समस्या भएको थियो । आयोजनाबाट उद्धार गरिएका १ कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगे पनि मानिस फेला पार्न सकेको थिएन । अहिले हेलिकप्टरबाट मिनी एस्काभेटर पुर्याएर खोजी जारी राखिएको छ ।
लाङटाङ आयोजनामा २ शव फेला
लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गते नेपाली सेना र भारतीय टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै करिब ६० मिटरसम्म खोजी गरेको थियो । त्यसक्रममा ठूला चट्टान भेटिएका थिए ।
भदौ १६ गते नेपाली सेना र आयोजनाका कर्मचारी समेत परिचालन गरी ग्यास वेल्डिङबाट सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा २ शव फेला परेको प्रधानमन्त्री शाहले बताए । सो क्षेत्रमा खोजी अझै जारी छ ।
चिलिमेमा २ शव फेला
चिलिमे जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोजी सुरु गरिएको थियो । दलदलका कारण सुरुङभित्र प्रवेश गर्न कठिन भएपछि भदौ १३ गते भारतीय विशेषज्ञ टोलीसहित रेकी गरिएको थियो ।
भदौ १४ गतेदेखि नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले खोजी सुरु गरेको थियो । सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै करिब ९० मिटरभित्र पुग्दा २ शव फेला परेका प्रधानमन्त्रीले जानकारी दिए । खोजीका लागि बबक्याट एस्काभेटरसहित अन्य उपकरण प्रयोग भइरहेका छन् ।
त्रिशूली–१ मा १ जनाको उद्धार, २ शव फेला
प्रधानमन्त्री शाहका अनुसार अपर त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० गतेदेखि खोजी सुरु भएको थियो । चिनियाँ विशेषज्ञ टोलीले भदौ १३ गते रेकी गरेपछि भदौ १४ गतेदेखि नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले संयुक्त रूपमा खोजी थालेको थियो ।
दलदल हटाउँदै सुरुङभित्र करिब २०० मिटर प्रवेश गर्दा ताल भेटिएको थियो । तालमा थर्मल ड्रोन प्रयोग गरी खोजी गरिएको थियो । त्यसपछि नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले खोजीलाई निरन्तरता दिएको थियो ।
खोजीका क्रममा १ शव फेला परेको र भदौ २० गते १ जनाको जीवितै उद्धार तथा २ शव बरामद गरिएको प्रधानमन्त्री शाहले बताए ।
त्रिशूली–३ ‘ए’मा २ जनाको उद्धार
नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पनि बाढी आएको पहिलो दिनदेखि खोजी सुरु गरिएको थियो । सुरुङको मुख नै पत्ता लगाउन कठिन भएपछि नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञ टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम अघि बढाएका थिए ।
खोजीका लागि ६ वटा एस्काभेटर प्रयोग गरिएको थियो । करिब २५ मिटर खनेपछि विद्युत्को तारका लागि प्रयोग हुने सुरुङ भेटिएको थियो । सुरुङबाट उद्धार टोली भित्र प्रवेश गरेको थियो ।
काठमाण्डु–तराई मधेश द्रूतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर र ड्रिलिङ मशिन ल्याएर प्रयोग गरिएको थियो । यी सामग्री हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्याइएको थियो ।
भदौ १९ गते २ जनाको उद्धार र १ शव बरामद गरिएको थियो । अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेराबाट खोजी जारी रहेको प्रधानमन्त्री शाहले बताए ।
त्रिशूली–३ ‘बी’मा १.७ किलोमिटरसम्म खोजी
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोजीको प्रयास गरिएको थियो । भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि दलदलका कारण उपकरण लैजान समस्या भएको थियो ।
हाल आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै अडिट सुरुङको १.७ किलोमिटरसम्म प्रवेश गरेको छ । त्यस क्रममा सुरुङभित्र एउटा गाडी फेला परेको प्रधानमन्त्री शाहले बताए ।
बाढीले आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवन पुरिएका छन् । ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन् गरिएको छ । थप उपकरण लैजाने काम जारी रहेको छ ।
प्रधानमन्त्री शाहले प्रभावित आयोजनामा खोज तथा उद्धारका लागि मित्रराष्ट्रबाट समेत विशेषज्ञ टोली परिचालन भइरहेको बताए । उनले स्रोतसाधन र समयको सीमितताका बाबजुद खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राखिने बताए ।




प्रतिक्रिया