सुदूरपश्चिमलाई बधाई दिँदै ८ वटै क्लबका लागि रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सुदूरपश्चिमलाई बधाई दिँदै ८ वटै क्लबका लागि रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाल प्रिमियर लिग (एनपीएल) विजेता सुदूरपश्चिम रोयल्सलाई हार्दिक बधाई दिँदै क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी ८ वटै क्लबका आफ्नै फ्लडलाइट सहितका क्रिकेट रंगशाला निर्माण गरिने जानकारी दिएका हुन् ।

उनका अनुसार क्रिकेट रंगशालाहरू नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिनेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी ३ महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणअनुसार ८ वटै क्लबका लागि रंगशाला निर्माण गरिनेछन् । विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिनेछ ।

८ वटै क्लबका आफ्नै रंगशाला निर्माण भएपछि नेपाल प्रिमियर लिगलाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने र क्रिकेटको व्यावसायिक विकास तथा विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।