बालेनले प्राधिकरणलाई जवाफ नदिने, स्पष्टीकरण पत्र बदरको माग गर्दै अदालतमा निवेदन


काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ दिन अस्वीकार गरेका छन् । त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै मेयर शाहले अदालतमा निवेदन दिएका हुन् ।

प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएकाले बदर गर्नुपर्ने उनको माग छ । महानगरले उच्च अदालतमा दायर गरेको निवेदनमा नक्सा पास नगरी प्राधिकरणले फेन्सिङ कार्यका लागि फलामे एङ्गलसहित तार जाली जडान गरेको हुँदा महानगरबाट खटिएको टोलीले गैरकानुनी कामलाई रोकथाम र नियन्त्रण गर्न प्रयास गरेको उल्लेख छ । गैरकानुनी काम नियन्त्रण गर्नु महानगरको अधिकार भएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोध्न नमिल्ने निवेदनमा उल्लेख छ ।

काठमाण्डुको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाण्डु महानगरले ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।त्यसको भोलिपल्ट प्राधिकरणले मेयर बालेन, नगर प्रहरी प्रमुख राजु पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई नेपाल नागरिक उड्डयन ऐन अनुसार किन करबाही नगर्ने भनेर ७ दिने स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement