नयाँदिल्ली- प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नेपाल-भारत सम्बन्धका विविध आयाममा छलफल भएको छ।
दुई नेताबीच विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
भारतको दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री जयशंकरले आइतबार नयाँदिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो। दुवै पक्षले आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत विचार आदानप्रदान गरेका थिए।
भेटमा विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन सहजीकरण, ऊर्जा सहकार्य र सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको छ।

नेपाल र भारतबीच व्यापार, पारवहन, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ। पछिल्लो समय ऊर्जा व्यापार, सीमापार प्रसारण लाइन, सडक तथा रेल सञ्जाल विस्तार र व्यापारिक पूर्वाधार विकास दुई देशबीचको सहकार्यका महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेका छन्।
प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। हैदराबाद हाउसमा हुने उक्त वार्तामा नेपाल–भारत सम्बन्धका साथै आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ।
दुई प्रधानमन्त्रीबीचको वार्तापछि विभिन्न विकास परियोजनाको उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया