काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो पहिलो औपचारिक विदेश यात्रा दक्षिण छिमेकी भारतबाट गरेका छन्। उनी आइतबार र सोमबार दुई दिन करिब साढे २५ घण्टा भारतमा रहे । तर उनी नयाँदिल्लीभन्दा बाहिर कहीँ पनि गएनन्।
उनले छोटो भारत यात्राका क्रममा मुख्यतया तीन शीर्ष नेतासँग भेट गरे। ती थिए, भारतीय विदेशमन्त्री डा. एस. जयशंकर, प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपती मुर्मू । बालेनको यस पटकको भेटघाट नै यी तीन व्यक्तिमा केन्द्रित रह्यो ।
विश्वकै बहालवाला कान्छा प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गरेका उनले आफ्नो यात्राका क्रममा धेरै नयाँ अभ्यास गरे। यता नेपालमा राष्ट्रपति रामचन्द्र पौडेललाई बेवास्ता गरेको आरोप लागिरहँदा भारतीय राष्ट्रपति मुर्मूसँग लामो संवाद गरे।
आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताज महलमा सबैभन्दा पहिले उनले भारतीय विदेशमन्त्री जयशंकरसँग कुरा गरे। त्यहाँ भएको लामो संवादका क्रममा नेपालले उठाएको नयाँ हवाई मार्गसम्बन्धी मुख्य मुद्दामा सहमति हुन सकेन । बालेन र जयशंकरबीच संयुक्त टोलीसहित भएको वार्ताले हवाई मार्ग र २ खर्ब ४० अर्ब ऋण र आर्थिक सहयोगलाई पनि अन्तिम रुप दिन सकेन।

जनकपुर-जयनगर रेलसहित साना विकास परियोजनामा पहिले नै सहमति भइसकेको थियो । त्यहीकारण उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर-अयोध्या रेल सेवा उद्घाटनका लागि आइतबारदेखि नै तयार थिए ।
तर मूल मुद्दामा सहमति हुन नसक्दा नेपाली टोलीबीच एक किसिमको संशय कायमै थियो । भारतसँग कुरा नमिलिरहेको अवस्थामा बालेनसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसहितले छलफल गर्न चाहेका थिए ।
यता प्रधानमन्त्री बालेनले यस पटक आफू सिधै प्रधानमन्त्रीसँगै संवाद गर्न आएको अडान राखे। उनले आपसी विश्वास बढाउन कर्मचारी तहमाभन्दा सिधै प्रधानमन्त्रीसँगै वार्ता गर्नुपर्ने अडान राख्दै आएका थिए । त्यहीकारण उनले तीन शीर्ष नेतृत्वसँग मात्रै लामो संवाद गरे।
यसअघि नेपाली प्रधानमन्त्रीहरू भारत जाँदा विदेश सचिवदेखि भारतीय सुरक्षा सल्लाहकारसँग पनि संवाद हुने गरेको थियो । सिधै मोदीसँग वार्ता नहुँदा दुई देशबीच आपसी विश्वासको वातारण बन्न नसकेको गुनासो आइरहन्थ्यो । तर यस पटक बालेनले आइतबार जयशंकरसँग भेटेपछि अरू कसैसँग संवाद गरेनन्। उनले सोमबार मोदीसँग दुई घण्टा लामो वार्ता गरे ।
विदेशमन्त्री जयशंकरसँग मुख्य मुद्दामा सहमति जुट्न नसकेपछि सोमबार हैदराबाद हाउसमा बालेन र समकक्षी मोदीबीच एक्ला एक्लै झन्डै दुई घण्टा लामो वार्ता भयो । नेपालका युवा प्रधानमन्त्रीसँगको पहिलो भेटलाई भावनात्मक बनाउन मोदीले उपहार आदान प्रदानलाई उपयोग गरे।
मोदीले बालेनलाई गंगाजल भरिएको कलश (एक प्रकारको भाँडो) उपहार दिए । यता बालेनले पनि रूद्राक्ष, पशुपतिनाथको चन्दन र शालीग्राम उपहारका रुपमा प्रदान गरे । मोदीले उक्त भेटका क्रममा एउटा सरप्राइज उपहार पनि प्रदान गरे । त्यो सरप्राइज उपहार थियो बालेनका बुवाको तस्बिर ।

मोदीले बालेनका बुवा रामनारायण शाहको तस्बिर उपहारस्वरूप प्रदान गरे। उक्त तस्बिर मोदीको गृहप्रदेश गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरमा स्नातकोत्तर अध्ययन गर्दाका दिनहरूमा कैद गरिएको थियो । रामनारायण पढाइ पूरा गरेर नेपाल फर्किएपछि सिंहदरबार वैद्यखानाको प्रमुखसमेत भए । अहिले उनको निधन भइसकेको छ।
नेपालका युवा प्रधानमन्त्री र १२ वर्षदेखि भारत हाँकिरहेका मोदीबीच विश्वासको वातावरण बनेको कुरामा अहिले भारतीय संस्थापन कन्भिन्स भएको छ। मोदीसँग एक्ला एक्लै भएको दुई घण्टा लामो छलफलबाटै भैरहवा रूटबाट दुईतर्फी जहाज उड्ने ढोका खुलेको छ।
मोदी र बालेनबीचको संवादपछिको संयुक्त वक्तव्यमा भनिएको छ, ‘हाल एकतर्फी रहेको बी३४५ काठमाण्डु-भैरहवा–लखनउ हवाईमार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन् । यससम्बन्धी कार्यविधिलाई अन्तिम रूप दिन तथा छलफलमा रहेका अन्य नागरिक उड्ड्डड्यनसम्बन्धी प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ ।’
अन्तिममा दुई प्रधानमन्त्रीबीच भएको दुई घण्टा लामो संवादले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहज हुने गरी उपलब्ध हुने गरि हवाईमार्गमा सहमति जुटाएको हो । यस सहमतिले लुम्बिनीका उद्योगी–व्यवसायी उत्साहित भएका छन् ।
नेपालले १२ वर्षदेखि भारतसँग भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो ।
सुशील कोइरालाको पालादेखि उठेको विषयले अन्तत: वालेन्द्र शाहको पालामा पूर्णता पाएको छ। दुई देशबीच जारी संयुक्त वक्तव्यको आठौं बुँदामा बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति उल्लेख गरिएको छ । अब प्राविधिक अध्ययनपछि नेपाली जहाज अब भैरहवा रुट हुँदै दुईतर्फी सिधै पश्चिमतर्फ जान सक्ने भएका छन्। पश्चिमबाट आउने जहाजले पूर्वतर्फ सिमरा छिरेर घुम्नुपर्ने छैन।
स्रोतका अनुसार दुई प्रधाानमन्त्रीबीचको भेटका क्रममा विश्वासको वातावरण बनाउने अधिकतम् कोसिस भएको छ। त्यहीकारण संयुक्त वक्तव्यमा सीमासम्बन्धी कुरा पनि समावेश भएको छ। संयुक्त वक्तव्य (बुँदा १५) अनुसार दुवै देशका प्रधानमन्त्रीले सीमास्तम्भको मर्मत तथा सम्भारसम्बन्धी संयुक्त फिल्ड कार्यको प्रगतिप्रति सन्तुष्टि जनाएका छन्।
र, बाँकी रहेका सीमा समस्याबारे काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिने निर्णय भएको वक्तव्यमा उल्लेख छ। यस वक्त्वयमा बाँकी रहेका सीमा समस्याका रुपमा सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी भनेर व्याख्या गरिएको बताइएको छ। यी विषयका काम अब दुवै देशका परराष्ट्र सचिवहरूले अघि बढाउने भएका छन्।

दुई देशका प्रधानमन्त्रीको लामो एकल वार्तापछि जारी गरिएको संयुक्त वकत्वयको अन्तिम बुँदामा पनि आपसी विश्वास बढाउने कुरालाई प्राथमिकता दिइएको छ। संयुक्त वक्तव्यको २४ औँ नम्बरमा ‘दुई देशको सम्बन्धप्रति प्रतिबद्धता’ शीर्षकमा आपसी विश्वासको कुरा उल्लेख छ।
‘नेपाल र भारतबीचको साझेदारी गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित छ। जनस्तरको बलियो सम्बन्ध तथा निकट आर्थिक र विकास सहकार्यले दुई देशको साझेदारीलाई थप मजबुत बनाएको छ। यस भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिएको र सम्बन्धलाई थप अघि बढाउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ’, दुवै देशले भनेका छन्।



प्रतिक्रिया