अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’

अध्यादेशको बचाउ गर्दै प्रधानमन्त्रीले राष्ट्रपतिसँग भने, ‘संविधान र कानुनको अधीनमै काम गरेका छौँ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले संसद् नचलेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको तर्क राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेका छन्।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सरकारले पठाउने अध्यादेशलाई अघि बढाउन पनि राष्ट्रपति पौडेलसँग आग्रह गरेका हुन्।

ल्याउन लागिएका अध्यादेशको औचित्यबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले संविधान र कानुनको सीमाभित्र रहेर काम गरिरहेको बताएका हुन्।

‘आवश्यक परेरै अध्यादेश ल्याइएको हो। अध्ययन गरेर तपाईंले प्रक्रिया अगाडि बढाइदिनुहोला। संविधान र कानुनभन्दा बाहिर गएर कुनै पनि काम गरेका छैनौँ। संविधान र कानुनको अधीनमै गतिविधि अघि बढेका छन्,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो।

प्रधानमन्त्री शाहले सदन खुलाउने विषयमा पनि सरकार गम्भीर रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनले संसद् अधिवेशन आह्वान र सरकारका पछिल्ला निर्णयबारे राष्ट्रपतिसँग छलफल गरेको बताइएको छ।

अध्यादेश ?

सरकारले आगामी मंसिर २४ र २५ गते हुन लागेको लगानी तथा पूर्वाधार सम्मेलनको तयारीका लागि अध्यादेश ल्याउँदैछ। काठमाण्डुमा हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि परियोजनाहरूमा रहेका कानुनी अड्चन हटाउन सरकारले थप अध्यादेश ल्याउन लागेको हो।

सभामुख डीपी अर्यालले लगानी सम्मेलनका लागि केही अध्यादेश जारी गरेलगत्तै संसद् अधिवेशन बोलाउने योजना सरकारले जानकारी गराएको बताइसकेका छन्।

सरकारले अध्यादेशबाटै ५९ ऐन संशोधनको तयारी गरेको छ। संसद् अधिवेशन बोलाउनुअघि सरकारले विभिन्न ५९ वटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारी गरेको हो।

यसअघि मंसिर ५ मा बसेको मन्त्रिपरिषद् बैठकले गैर-गम्भीर प्रकृतिका कसुरहरू मेलमिलाप, क्षतिपूर्ति वा माफीमार्फत टुङ्ग्याउन सकिने व्यवस्थासहितको अध्यादेशको मस्यौदा पनि स्वीकृत गरेको थियो।

केही अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छन्। गत असोज १६ गते संसद्को बजेट अधिवेशन अन्त्य भएयता सरकारले सिफारिस गरेका ८ वटा अध्यादेशमध्ये राष्ट्रपति पौडेलले ५ वटा जारी गरिसकेका छन् । अन्य ३ वटा अध्यादेश अध्ययनका क्रममा रोकेर (होल्ड) राखेका छन्।

जसमा कात्तिक १७ गते सिफारिस गरिएको प्रेस काउन्सिल नेपाल ऐन संशोधन अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश लगायत छन्।

संसद् अधिवेशन आह्वान र अध्यादेशबारे राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको ब्रिफिङ, निर्वाचनपछि पहिलोपटक भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट फागुन २१ को निर्वाचनपछि पहिलो हो। प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले राष्ट्रपतिसँग पहिलोपटक भेट गरेका हुन्। यसअघि भारतको औपचारिक भ्रमणमा जाँदा र भ्रमणबाट फर्किएपछि पनि उनले राष्ट्रपतिसँग भेट गरेका थिएनन्।

उनी मंसिर ६ गते भारत जाँदा पनि राष्ट्रपतिलाई भेटेनन्। भारत भ्रमणबाट फर्किएपछि पनि राष्ट्रपतिसँग भेट नगरेको विषयले आलोचना भएपछि उनी पहिलो पटक शीतल निवास छिरेका हुन्। उनी चैत १३ मा प्रधानमन्त्री हुनुअघि शीतल निवास पुगेका थिए।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई आफ्नो भारत भ्रमणका उपलब्धिबारे पनि जानकारी गराएका छन्।भेटमा समसामयिक राजनीतिक विषय र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन्। सरकारले अध्यादेशमार्फत अघि बढाएका विषय र संसद् अधिवेशनको तयारीबारे पनि दुईजनाबीच कुरा भएको बताइएको छ।