सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ

सरकारका बेथितिविरुद्ध निडर भएर उभिनु पर्ने भन्दै महामन्त्री पौडेलले भने- कांग्रेस डराए लोकतन्त्र संकटमा पर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै उनले कांग्रेस डराएमा मुलुकको लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । गत मङ्सिर ८ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ।

बैठकमा महामन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैली, सुशासन, संवैधानिक अंगमाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता, आर्थिक मन्दी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणका विषयमा विस्तृत धारणा प्रस्तुत गरे ।

महामन्त्री पौडेलले सरकारले संसद्लाई हेपेको, महँगीको भार थोपरेर नागरिकलाई बेवास्ता गरेको र राष्ट्रियतामाथि नै प्रहार गरिरहेको आरोप लगाए । सरकार गठन भएयता मन्त्रीहरू तथा प्रधानमन्त्री कार्यालयको सचिवालय नै विभिन्न विवादमा मुछिँदै गएको र सुनकोशी मरिन डाइभर्सनदेखि पासपोर्ट काण्डसम्मका अनियमिततामा सरकार जोडिएको भन्दै उनले ती विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताको माग गरे ।

उनले न्यायपालिका, सुरक्षा निकाय र संवैधानिक आयोगहरूको स्वायत्ततामाथि सरकारबाट भइरहेको हस्तक्षेप तत्काल रोकी विधिको शासन कायम गर्नुपर्नेमा जोड दिए । त्यस्तै, समाचार लेखेकै आधारमा पत्रकार तथा आलोचकहरूलाई तर्साउने र प्रतिशोध साँध्ने सरकारी प्रवृत्तिको विरोध गर्दै उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस स्पष्ट अडानका साथ उभिने बताए ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न र देशभित्रै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न ठोस आर्थिक सुधारका कार्यक्रम ल्याउन महामन्त्री पौडेलले सरकारको ध्यानाकर्षण गराए । वैकल्पिक व्यवस्थाबिना होल्डिङ सेन्टर तथा बस्तीहरूबाट सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई हटाउने कदमको विरोध गर्दै उनले संविधानप्रदत्त आवासको हक सुनिश्चित गर्न माग गरे ।

रसुवाको भोटेकोशी बाढी लगायत प्राकृतिक विपद्मा बेपत्ता भएकाहरूको खोजी गर्न र पीडित परिवारलाई घोषणा गरिएको राहत तत्काल उपलब्ध गराउन उनले आग्रह गरे । राजनीतिक दलहरूबीच भएका पछिल्ला छलफलहरूको समीक्षा गर्दै समयमै स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न सरकारलाई दबाब दिनुपर्ने कांग्रेसको आधिकारिक धारणा रहेको उनले स्पष्ट पारे ।

वडाका मुद्दा र पार्टी रूपान्तरणको खाका बनाउन जोड।

पार्टीलाई नागरिकसँग प्रत्यक्ष जोड्न तल्लो तहका बैठकहरूमा स्थानीय मुद्दा अनिवार्य एजेण्डा बन्नुपर्ने महामन्त्री पौडेलको भनाइ छ । मञ्चमा गएर एकै प्रकारको भाषण गर्ने पुरानो शैली बदल्नुपर्ने उल्लेख गर्दै उनले भने, “वडाको बैठक बस्दै गर्दा कम्तीमा पनि त्यो वडाको तीनवटा मुद्दा बैठकको एजेण्डा बनोस् । एउटा बैठकमा कुनै किशोर वा किशोरीले मेरो मुद्दा कांग्रेसको बैठकको विषय बन्यो भनेर गर्व गर्ने अवस्था बनोस् । ज्येष्ठ नागरिकहरूले कांग्रेसले मेरो बारेमा बोल्यो भनेर महसुस गरून् र समाजका सबै समुदाय, वर्ग तथा जातिले कांग्रेसले हाम्रो बारेमा आफ्नो एजेण्डा बनायो भन्ने अनुभूति गर्न सकून् ।”

कांग्रेस नेपालको राजनीतिको विश्वविद्यालय भएको र यसको विधान मुलुककै सबैभन्दा समावेशी रहेकाले यसलाई जनस्तरमा प्रचार गर्नुपर्ने उनले बताए । आगामी मङ्सिर १५ गतेदेखि सुरु हुने ‘हामी तयार छौँ’ अभियानलाई प्रभावकारी बनाउँदै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई आगामी निर्वाचनका लागि गाउँ–टोलसम्म परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

पार्टीभित्रका विगतका असन्तुष्टिहरूलाई संवादमार्फत समाधान गर्न आग्रह गर्दै महामन्त्री पौडेलले सामाजिक सञ्जालमा हुने गुटगत टीकाटिप्पणी तत्काल रोक्न सार्वजनिक आह्वान गरे । कांग्रेससँग प्रतिस्पर्धा गर्न कठिन छ भन्ने बुझेर नै चौतर्फी प्रहार भइरहेको जिकिर गर्दै उनले आन्तरिक एकता बलियो बनाउनुपर्ने बताए ।

केवल सत्ता केन्द्रित राजनीति नगरी आम नागरिकका दैनिक जीविकाका सवालहरूलाई संसद् र अन्य माध्यमबाट सशक्त रूपमा उठाउन पार्टीका सांसदहरूलाई अपिल गर्दै उनले भने, “जनताका वास्तविक मुद्दा बोकेर रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र जोगिन्छ र कांग्रेस थप बलियो शक्तिका रूपमा उभिन्छ ।”