प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाको भेटवार्ता भएको छ ।

मंगलबार उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको जनाइएको छ ।

यस्तै, भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका थिए ।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत् विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका थिए ।

जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको जनाइएको छ ।

​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए।

उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री शाहले यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री पल कपुर तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग व्यक्तिगत भेट गर्न अस्वीकार गरेका थिए ।

प्रधानमन्त्रीले भेट नदिएपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण पनि स्थगित भएको थियो ।

व्यक्तिगत भेटघाटको सट्टा प्रधानमन्त्री शाहले सामूहिक कूटनीतिक संवादलाई प्राथमिकता दिएका छन् । उनले वैशाख ८ गते काठमाण्डुस्थित विभिन्न देशका कूटनीतिज्ञहरूसँग संयुक्त रूपमा भेट गरेका थिए ।

त्यसपछि जेठ २६ गते युरोपेली संघका २३ राजदूत तथा उपप्रमुखसहित अस्ट्रेलिया, रुस, थाइल्यान्ड, म्यानमार, संयुक्त अरब इमिरेट्स, नर्वे, फिनल्यान्ड, मलेसिया र ब्राजिलका प्रतिनिधिमण्डलसँग सामूहिक भेटवार्ता गरेका थिए ।