उपत्यका ट्राफिकको बलियो साथ पाएका बालेनले आज कहाँ-कहाँ चलाउँदैछन डोजर ?


काठमाण्डु – ३० बैशाख ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा सर्वाधिक मतका साथ काठमाण्डु महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन शाह पछिल्लो समय लोकप्रिय हुँदै गएका छन् । उनी मेयरमा निर्वाचित भएलगत्तै काठमाण्डुको फोहोर व्यवस्थापनमा सक्रिय भए ।

त्यसपछि उनी हाल केहि दिनयता काठमाण्डु महानगरभित्र अबैध रुपमा बनेका संरचना तथा अन्डरग्राउण्ड पार्खिङ भत्काउनमा व्यस्त छन् । त्यसैका निरन्तरता स्वरुप आजपनि उनले महानगरभित्र नक्साविपरीत सडक क्षेत्र अतिक्रमण गरेर निर्माण भएका विभिन्न स्थानका भौतिक संचरना भत्काउने भएका छन् ।

आज काठमाण्डुको शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको संरचना र नबिल बैंकको न्यूरोड शाखाको संरचना भत्काउने तयारी महानगरको छ । यसका लागि डोजरसहित कर्मचारीहरूलाई तम्तयार रहन निर्देशन दिइएको छ ।

काठमाण्डु महानगरपालिकाले मंगलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाण्डु मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ ।

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै काठमाण्डु महानगरले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ ।

संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने छ । अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको मेयर साहले बताए ।

यसबाट पार्किङको समस्या समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास छ । मेयर बालेनको कदमलाई काठमाण्डु उपत्यका ट्राफिक कार्यालयले दह्रो साथ दिइरहेको छ । उनलाई सवारी व्यवस्थापनको जिम्मेवारी पाएकी ट्राफिक कार्यालय प्रमुख डिआईजी मीरा चौधरीको साथ छ ।

उनीहरु दुबैजना मिलेर काठमाण्डुको ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङको खोजी सुरु गरेका थिए । त्यसमा उनीहरु सफल पनि हुँदै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement