सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन


काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

चाडपर्व लक्षित सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले नागरिकलाई अनुभूत हुने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुप¥यो । “नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन’, मन्त्री खाँणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्‍यो र चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो । ‘

उनले परिवर्तनको परिणम देखिने गरी काम गर्न र जनतालाई चुस्त सेवा दिन आग्रह गरे । सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबसी कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि निर्देशन दिए । उनले मन्त्रालयले चाडपर्वका बेलामा गर्नुपर्ने कामको विषमया जानकारी दिनसमेत आग्रह गरे । ‘ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न आवश्यक छ’, मन्त्री खाँणले भने ।

बैठकमा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए ।

त्यस्तै महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गरेका थिए । मन्त्री खाँणले ती योजना सुनेपछि योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए । उनले सरकार नागरिकलार्ई परिवर्तनको अनुभूति दिलाउन लागिरहेको भन्दै त्यस कार्यमा सहयोग गर्न कर्मचारी र प्रहरी अधिकारीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement