कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,बालकृष्ण खाँणको निलम्बनको विषय उठाउने तयारी


काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ । बैठकअघि केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दैछ ।

अघिल्लो बर्ष साउनमा बैठक बसेपछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्षपछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरु अनुमोदन गराउनेदेखी भातृ संगठन सबन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नबिचार गरिने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ । यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेसनको मिति र स्थान तय गरिने जनाइएकाे छ ।

साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाईएको छ ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी  समेत गरेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । तर प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement