पार्टी एकता गर्न सेकेन्ड जेनेरेशनसँग मिलेर ओली र प्रचण्डलाई घेराबन्दी गर्छुः वामदेव गौतम


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गर्ने नीति लिएका छन् ।

उपाध्यक्ष गौतमले आफू अझै पनि पार्टी एकताको अभियानमा रहेकाले दुवै अध्यक्षलाई घेराबन्दी गर्ने रणनीति लिएका हुन् । उनले दुवै समूहका दोस्रो तहका नेताहरुलाई आफ्नो पक्षमा लिएर पार्टी एकता सफल बनाउने भएका छन् ।

बिहीबार कोरोनाको खोप लगाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले दुवैको अभव्यिक्ति सुन्दा अहिले नै एकता सम्भव नदेखिएकाले आफूले उक्त बाटो अपनाएको बताए ।

‘मेरो प्रयत्न केपी ओलीतिर रहेका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न् उनलाई भोट नदिने । चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला’, उनले भने ।

त्यस्तै उपाध्यक्ष गौतमले आफूले यो अभियान चाँडै नै सञ्चालन गर्ने बताए । उनले दुवै समूहलाई उकताबद्ध गरेपछि एकता सम्भव हुने बताए ।

‘उहाँहरुलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरुको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलन प्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर अनि उहाँहरुलाई एकताबद्ध गराउने पक्षमा म छु,’ उनले भने ।

त्यस्तै उनले खोप लगाउँदा जेष्ठ नागरिकहरुलाई सबैभन्दा बढी फाइदा पुर्याउने बताए । खोप लगाउँदा झन एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने भन्दै उनले सबैले अनिवार्य खोप लगाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement