पोखरेल र थापाको असहमतिपछि वामदेवको एमाले प्रवेशमा लाग्यो ‘ब्रेक’

पोखरेल र थापाको असहमतिपछि वामदेवको एमाले प्रवेशमा लाग्यो ‘ब्रेक’


काठमाण्डु – ४ माघमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किने निश्चित भएको बताएका थिए ।

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका गौतमले ओलीसँगको भेटपछि नेकपा (एकीकृत समाजवादी)मा जान आफूले गरेको तयारीमा विश्राम दिएका थिए ।

तर, एकाएक उनको एमालेमा प्रवेश गर्ने विषय पर धकेलिएको छ । एमाले अध्यक्ष ओलीले गौतमसँग भेट भएको पर्सिपल्ट ६ माघमा गौतमलाई टेलिफोन गरेर एमालेमा फर्काउने विषयमा पार्टी सकारात्मक रहेको र सचिवालय बैठकले त्यसबारे निर्णय गर्ने बताएका थिए । त्यसपछि गौतम अब एमाले प्रवेश गरिने भयो भनेर ढुक्क थिए ।

माघ ८ गते बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले गौतमलाई पार्टीमा फर्काउन राखेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले असहमति जनाए । त्यसपछि सचिवालय बैठकले गौतमलाई पार्टीमा फर्काउन कुनै निर्णय गरेन ।

सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रलीप ज्ञवालीले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय भएको छ ।’

सचिवालय बैठकमा गौतमलाई घर फिर्ता ल्याउने कि के गर्ने भन्ने विषयमा अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष बादललाई सोधेका थिए । बैठक स्रोतका अनुसार पोखरेलले गौतमलाई एक्लै ल्याएर नहुने र उनी केन्द्रीय सदस्यमा नबस्ने बताएका थिए । दोस्रो बरियता खोज्ने होलान भन्ने प्रश्न पोखरेलले राखेका थिए ।

बैठकमा सहभागी एक नेता भन्छन्, ‘ईश्वर कामरेडले दोस्रो वरियता खोज्नुहोला भनेर कतै आफ्नो वरियता खुस्किने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँको आशय ल्याउन हुन्न भन्ने खालको थियो ।’

त्यसपछि ओलीले बादललाई सोधे । बादलले गौतमलाई एमाले भित्र्याएछि पार्टीमा गुटबन्दी बढ्ने बताएका थिए । गौतम भित्रिएपछि एमाले विघटनको बाटोमा जान सक्ने बादको भनाइ थियो ।

धेरैजसो नेताहरूले वामदेवलाई भित्र्याएपछि पद के दिने र उनीसँगै आउने अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा उठाएका थिए ।

अन्य नेताहरूले भने गौतमको विषयमा केही नबोली यसबारे अध्यक्ष ओलीले नै सोचबिचार गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।

नेताहरूको भनाइपछि गौतमलाई भित्र्याएपछि विधान संशोधन गरेर पद दिन नसकिने बताएका थिए ।

बैठकमा सहभागी एक सचिवालय सदस्यले ओली आफै पनि गौतमलाई एमालेमा ल्याइहाल्नुपिर्छ भन्ने तरिकाले प्रस्तुत नभएको जानकारी दिए ।

एमालेमा १९ पदाधिकारी छन् । १८ पदाधिकारीमा नेताहरू क्रियाशील छन् । सचिव टोपबहादुर रायमाझी भने भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाले निलम्बनमा छन् ।