बंगलादेशमा अवामी लिग र बीएनपी आमनेसामने, झडपमा सत्तारुढ दुई नेता मारिए

बंगलादेशमा अवामी लिग र बीएनपी आमनेसामने, झडपमा सत्तारुढ दुई नेता मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका- बंगलादेशको नराइल जिल्लामा प्रतिबन्धित राजनीतिक दल अवामी लिगका कार्यकर्ताले गरेको आक्रमणमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेता मारिएका छन्।

बुधबार साँझ करिब ७ बजे कालिया उपजिल्लामा बीएनपीले निकालेको विरोध र्‍यालीमाथि अवामी लिगका कार्यकर्ताले आक्रमण गरेको आरोप छ। आतंकवाद र अराजकताको विरोधमा आयोजना गरिएको र्‍यालीमाथि आक्रमण हुँदा दुई नेता गम्भीर घाइते भएका थिए।

मृत्यु हुनेमा कालिया उपजिल्ला कृषक दलका महासचिव शाहिन र जातीयतावादी सामाजिक सांस्कृतिक संगठन (जासास) का उपजिल्ला महासचिव सोहेल मोल्ला रहेका छन्।

प्रहरी र स्थानीय स्रोतका अनुसार बीएनपी तथा यसका भ्रातृ संगठनले कालिया बजार क्षेत्रमा विरोध र्‍याली निकालेका थिए। सोही क्रममा अवामी लिगका कार्यकर्ताले र्‍यालीमाथि आक्रमण गरेका थिए।

गम्भीर घाइते भएका दुवैलाई अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। नराइलका प्रहरी प्रमुख मोहम्मद अल मामुन सिक्दरले राति करिब १० बजे घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

अवामी लिगको बन्द आह्वानपछि हिंसा

पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको माग र अवामी लिगले आह्वान गरेको राष्ट्रव्यापी बन्दका बीच बंगलादेशका विभिन्न जिल्लामा हिंसात्मक घटना भएका छन्। बिहीबार विभिन्न स्थानमा आगजनी, तोडफोड र आक्रमणका घटना भएका छन्। प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि देशमा हिंसा फैलाउने र षड्यन्त्र गर्ने आरोप लगाएका छन्।

लालमोनिरहाटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले १६ वर्षसम्म जबर्जस्ती सत्तामा बसेर देश छाडेका व्यक्तिहरू सीमापारिबाट बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले देश छाडेपछि पनि आगजनी र हत्याको राजनीति नरोकेको बताएका थिए।

अवामी लिगले नोभेम्बर १९ मा एकदिने राष्ट्रव्यापी बन्द आह्वान गरेको थियो। बन्दको प्रभाव विशेषगरी दक्षिणी बंगलादेशका अवामी लिगको बलियो जनाधार भएका जिल्लामा देखिएको छ।

हिंसाका क्रममा गोपालगन्जमा बीएनपीका दुई सांसदका घरमा तोडफोड तथा आगजनी गरिएको छ। केही बजार र पसललाई समेत निशाना बनाइएको छ। प्रहरीका अनुसार कम्तीमा ६ वटा बस तथा पिकअप गाडीमा आगजनी भएको छ। रेलमार्गको एउटा खण्डमा समेत क्षति पुर्‍याइएको छ।

त्यस्तै, ढाका–चटगाउँ राजमार्गमा बस र ट्रकमा आगजनी गरिएको छ। बसका यात्रु भने सुरक्षित बाहिर निस्किएका थिए।

नोबेल पुरस्कार विजेता तथा बंगलादेशको अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पुर्ख्यौली घरमा समेत आगजनी गरिएको छ। प्रहरीका अनुसार घरको खाली कोठामा आगो लगाइएको थियो। उनका परिवारका सदस्य भने सुरक्षित छन्।

सात जिल्लामा सुरक्षा बल परिचालन, १०७ जना पक्राउ

हिंसात्मक घटना बढेपछि बंगलादेश सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। सीमा सुरक्षा बल (बीजीबी) का ९७ टोली सात जिल्लामा परिचालन गरिएको छ। ती जिल्लामा गोपालगन्ज र फरीदपुर पनि छन्।

यसैबीच ढाका प्रहरीले अवामी लिगसँग सम्बन्ध रहेको आशंकामा २४ घण्टाभित्र १०७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन्।

हसिनाको स्वदेश फिर्तीको घोषणापछि तनाव

सन् २०२४ मा विद्यार्थी आन्दोलन चर्किएपछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। उक्त सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाउँदै पार्टीका हजारौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो।

हसिनाले सन् २०२६ को जुलाईमा आगामी डिसेम्बरमा बंगलादेश फर्किएर अदालतको कानुनी प्रक्रिया सामना गर्ने इच्छा व्यक्त गरेकी थिइन्। यसै महिना उनले जसरी पनि डिसेम्बरमा स्वदेश फर्किने दोहोर्‍याएकी थिइन्। त्यसयता बंगलादेशमा राजनीतिक तनाव थप बढेको छ।

हसिनाको गृहनगर टुंगिपाराबाट पनि पछिल्लो हिंसाको सुरुवात भएको बताइएको छ। मंगलबार अवामी लिग समर्थक भएको आशंकामा केही युवालाई पक्राउ गरेपछि सयौँ मानिसले स्थानीय प्रहरी कार्यालय घेराउ गरेका थिए। त्यतिबेला प्रहरी कार्यालयमा करिब ३० जना संदिग्ध कार्यकर्ता हिरासतमा रहेको स्थानीय सञ्चारकर्मीले बताएका छन्।

भारत–बंगलादेश सम्बन्धमा समस्या

शेख हसिनाको सुपुर्दगीको मागलाई लिएर भारत र बंगलादेशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। यसको असर प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमणमा समेत परेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२६ फेब्रुअरी १७ मा तारिक रहमान प्रधानमन्त्री बनेपछि बधाई दिँदै उनलाई परिवारसहित भारत भ्रमणको निम्तो दिएका थिए।

त्यसपछि अगस्टमा दुवै देशबीच भ्रमणबारे छलफल भए पनि मिति तय हुन सकेन। सेप्टेम्बरमा भारतले उनलाई ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिएको थियो। तर उनी सहभागी भएनन्।