भारतका प्रतिबन्धित नोट नेपाली बजारमा चल्तीमा


काठमाडौं – चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे। प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद गर्‍यो। ऋण तिर्न भारतमा बसोबास गर्ने आफन्तबाट मित्तलले पैसा सापट मागेका थिए।

राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा भारु साट्न जाँदा उनलाई ट्राफिक चोकबाट पक्राउ गरिएको थियो। प्रहरीसँगको बयानमा मित्तलले जग्गा कारोबारमा ऋण लागेका कारण आफन्तसँग सापटी लिएर रकम ल्याएको बताएका छन्।

मित्तल मात्र होइनन् पछिल्लो समय ठूला दरका भारतीय रुपैयाँसहित पक्राउ पर्नेको संख्या बढ्दै गएको छ। भारतमा मोदी सरकारले गत वर्ष कालो धन नियन्त्रण गर्न भन्दै पाँच सय र एक हजार दरका भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको थियो।

नेपालमा भएका प्रतिबन्धित भारतीय रुपैयाँ साट्ने विषयमा आनकानी गर्दै आएको भारतले प्रतिबन्धपछि कारोबारका लागि भन्दै पाँच सय र दुई हजार रुपैयाँको नोट बजारमा ल्याएको छ। ती नोट नेपालमा भने प्रयोगमा ल्याउन पाइँदैन।

नेपाल उद्योग संघ मोरङका सभापति मुकेश उपाध्याय सीमा क्षेत्रमा भारतीय पाँच सय र दुई हजार रुपैयाँको कारोबार भएको बताउँछन्। उनले भने, ‘बाटोमा लिएर हिँड्न पनि डर छ। यी नोटमा कारोबार नगरी सीमा क्षेत्रमा व्यापार हुँदैन।’

राष्ट्र बैंकले २३ असार ०७४ मा परिपत्र गरी भारतीय बजारमा चलन चल्तीमा रहेका पाँच सय र दुई हजारका नोटको कारोबार नेपालमा गर्न नपाइने स्पष्ट पारेको छ। प्रहरीले ठूला दरका भारतीय नोटसहित सर्वसाधारण पक्राउ गर्न थालेपछि बैंकले यस्तो परिपत्र जारी गरेको हो।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा सीमा क्षेत्रमा ठूला दरका भारतीय रुपैयाँ चलनचल्तीमा रहेको बताउँछन्। उनी भन्छन्, ‘व्यापारीले चलाउनै पर्ने भएर मात्र चलाएका छन्। एक जनाले २५ हजार भारतीय रुपैयाँ लिएर हिँड्न पाउने भए पनि एक सय दरको
रुपैयाँ लिएर हिँड्दा साढे दुई बन्डल बोक्नुपर्छ। त्यो बोक्न कठिन भयो। ठूला दरको बोक्दा प्रहरीले समात्ने डर छ।’ नेपालबाट भारत जानेले भारतीय एटीएमबाट पैसा निकाल्दै आएका छन्। औषधि उपचार, तीर्थ यात्राका लागि समेत भारतमा जाने नेपालीले भारतीय एटीएमबाट पैसा निकाल्ने गरेका छन्। त्यहाँको एटीएमले ठूला दरका नोट दिन्छ।

नेपाल इँटा उत्पादन संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकार एटीएमबाट निकालेको रकम खर्च नभए बोकेर नेपाल आउँदा समातिने डर रहेको बताउँछन्।

उनले भने, ‘एक सय दरको नोटले काम गर्न सकिँदैन। पाँच सय र दुई हजारको नोट बोक्न पाइँदैन। यसले व्यवसायीलाई समस्यामा पारेको छ।’

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी शेखर पौडेल नेपालमा पाँच सय र दुई हजार दरको नोट चल्दैन भन्ने थाहा नपाएर धेरेले बोक्ने गरेको बताउँछन्।

उनी भन्छन्, ‘सानो सानो परिमाणमा भारु बोकेका मानिस अहिले पक्राउ पर्न थालेका छन्। पक्राउ पर्नेको संख्या बढी भए पनि पैसा कम भएकाले अरू गैरकानुनी कामका लागि पैसा आयो भन्न सकिने अवस्था छैन।’

पर्यटनमा असर

नेपालमा ठूला दरका भारतीय नोट चल्दैन भन्ने थाहा नपाएका कारण पछिल्लो समय नेपाल भ्रमणमा आउने धेरै भारतीय पर्यटक समस्यामा पर्न थालेका छन्।

पोखरा भ्रमण गरी काठमाडौं फर्कन लाग्दा भारतीय पर्यटक कृष्णनेन्दु वेनर्जी पोखरा विमानस्थलबाट समातिए। प्रहरीले उनको साथबाट पाँच सय र दुई हजार दरका भारतीय रुपैयाँ बरामद गर्‍यो। भारतीय पर्यटक नेपाल आउँदा धेरैजसोले ठूलो दरका नोट लिएर आउने गरेका छन्।

नेपालमा भारतमा चल्ने पैसा बोकेकै आधारमा भारतीय पर्यटक समातिनु गम्भीर समस्या भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

उनी भन्छन्, ‘यसले नेपालको पर्यटक उद्योगलाई गम्भीर असर पार्छ। हामीले फेबु्रअरी २३ र २४ मा नेपालमा हुने नेपाल–भारत संयुक्त पर्यटन समन्वय समितिको बैठकमा यो एजेन्डालाई प्राथमिकतासाथ उठाउँदै छौं।’

नेपालमा अहिले वार्षिक डेढ लाखभन्दा बढी पर्यटक आउने गरेका छन्। स्थलमार्गबाट भएर आउने अधिकांश पर्यटकले ठूलो दरका भारतीय रुपैयाँ लिएर आउने गरेका छन्। यसका अलावा काठमाडौंमा सञ्चालनमा रहेका क्यासिनोमा खोल्न आउने धेरै भारतीय जुवाडेले समेत भारतीय रुपैयाँ साथमा बोकेर आउने गरेका छन्।

नेपालमा ठूला दरका भारतीय रुपैयाँ चलाउन नपाउने थाहा पाएका कतिपय पर्यटकले नेपाल आउँदा हुन्डीमा पैसा पठाउन थालेको व्यवसायी बताउँछन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष शर्मा भन्छन्, ‘क्यासिनोमा जुवा खेल्न आउनेले पनि हुन्डीबाट पैसा पठाउन थालेका छन्। ठूला दरका नोट ल्याउन नपाउँदा गैरकानुनी कारोबार फस्टायो।’

पछिल्लो समय भारतबाट नेपाल आउनेलाई सीमा क्षेत्रका प्रहरीले समेत भारतीय रुपैयाँ बोकेको छ कि छैन भनेर सोध्ने गरेको छ। कतिपय अवस्थामा सामान्य मानिसको पैसा नेपालमा चलाउन पाइँदैन भन्दै प्रहरीले लिने गरेको व्यवसायी गुनासो गर्छन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नेपाल आउने भारतीय पर्यटकको संख्या ठूलो भएकाले भारतीय रुपैयाँ पाँच सय र दुई हजार नेपालमा चल्ने व्यवस्था गर्नुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘भारतले जेएसटी लगाएपछि व्यापारको सबै काम बैंकबाट हुन्छ। पैसा नचलेका कारण व्यापार रोकिँदैन। तर, नेपाल घुम्न आउनेलाई पैसा बोकेकै आधारमा अपराधी बनाउनु हुँदैन। यस्तो भइरहने हो भने नेपाल आउने भारतीय पर्यटकले नेपालको विकल्पमा अन्य देश खोज्छन्।’

किसानले ढुक्कले लिँदै

नेपालको पूर्वी क्षेत्रबाट अदुवा, अलैंची, बन्दा, टमाटरलगायत कृषि उत्पादन भारत जाने गरेका छन्। पूर्वको नाका काँकडभिट्टाबाट चालु आवको पहिलो चार महिनामा पाँच करोड ७४ लाख रुपैयाँको बन्दा मात्र निर्यात भएको देखिन्छ।

पूर्वीपहाडी जिल्लाबाट वर्षाको मौसममा काउली, बन्दा, हरियो सिमी, हरियो धनिया र टमाटरजस्ता भारतको समथर भूभागमा हिउँदमा मात्र खेती हुने तरकारी निकासी हुँदै आएको छ।

तरकारी किन्न भारतीय व्यापारी किसानको बारीमै आउने गर्छन्। उनीहरूले दिने भारतीय रुपैयाँका आधारमा किसानले तरकारी बेच्दै आएका छन्। भारतीय व्यापारी किसानको खेतमा गएर कृषि उत्पादन किन्ने गरेको दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले बताए।

उनले भने, ‘अहिले सुपारी, अदुवा र धान बेच्ने बेला हो। यस्तो बेलामा भारतीय व्यापारीले किसानलाई खेतमै पैसा दिन्छन्।’ एक सय दरको नोट बोकेर ल्याउन गाह्रो हुने बताउँदै भारतीय व्यापारीले पाँच सय र दुई हजार दरका नोट ल्याउने गरेका छन्।

किसानले राखेको पैसा चलेन भने ठूलो समस्या आउने वरिष्ठ उपाध्यक्ष खतिवडा बताउँछन्। उनले भने, ‘भारतीय रुपैयाँ प्रतिबन्धित हुँदा डुबेका किसान फेरि डुब्नेछन्।’ आजको अन्नपूर्ण पोस्ट्मा खबर छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement