नेपालको ऊर्जामा लगानी गर्न ऊर्जा संघका महानिर्देशकलाई आग्रह


यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका ऊर्जा, जलसोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच शुक्रबार भेटवार्ता भएको छ ।

भेटमा मन्त्री पुनले सम्मेलनमा नेपाललाई आमन्त्रण गरेकामा महानिर्देशक क्यामेरालाई धन्यवाद दिँदै भविष्यमा नवीकरणीय ऊर्जाको विकासमा सहकार्यको प्रस्ताव गरेका थिए ।

हाल नेपालमा नेकपा नेतृत्वमा स्थिर सरकार र स्थिर नीति रहेको भन्दै उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि उपयुक्त अवसर र वातावरण रहेको बताएका थिए ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अपिलसमेत गरेका थिए । नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको स्मरण गराउँदै उनले त्यसको १० देखि १५ प्रतिशत योगदान सौर्य ऊर्जाको हुने उल्लेख गरे ।

वर्षमा ३६० दिन घाम लाग्ने भएकाले नेपाल जलविद्युतसँगै सौर्य ऊर्जाका लागि पनि उपयुक्त स्थान भएको उनको भनाइ थियो ।

सरकारले सौर्य ऊर्जाको विकासका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र स्थापना गरेको र त्यसले संस्थागत रुपमा काम गरिरहेको उनले जनाए ।

भेटमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले नवीकरणीय ऊर्जा प्रयोगका लागि सहयकार्यको प्रस्ताव राखेका थिए ।

नवीकरणीय ऊर्जाको बजार विस्तारका लागि लगानी सम्मेलनका लागि सहकार्य गर्न वैकल्पिक ऊर्जा र संघबीच सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

जवाफमा महानिर्देशक क्यामेराले नेपालले सौर्य ऊर्जाको विकासलाई उच्च प्राथमिकतामा राखेकोमा सराहना गरेको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

उनले महत्त्वपूर्ण सदस्य राष्ट्रको हैसियतमा नेपाललाई भविष्यमा सौर्य ऊर्जा प्रवद्र्धनका लागि संघले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement