बाढीपहिरो जस्ता विपदमा संवेदनशील भएर काम गर्न ऊर्जामन्त्रीको निर्देशन


काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बाढी, पहिरो जस्ता विपद्मा समस्या समाधानका लागि संवेदनशील भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

जलस्रोत विपदको व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम हुने भन्दै उनले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएका हुन् । हरेक वर्ष आउने बाढी पहिरो तथा अन्य जलस्रोतसम्बन्धी विपद् व्यवस्थापन गर्न मन्त्रालयले ‘विपद व्यवस्थापन समन्वय समिति’ समेत गठन गरेको छ।

मन्त्रालयमा जलस्रोत हेर्ने सहसचिवको नेतृत्वमा जल तथा मौसम विज्ञान विभाग, भूमिगत जलस्रोत, जलस्रोत तथा सिँचाइ लगायत विभागका प्रमुख सम्मिलित समितिले जोखिम व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाउनेछ। जलस्रोतबाट उत्पन्न हुने विपद व्यवस्थापन गर्न मन्त्री पुनले ७ बुँदै निर्देशन दिएका छन् ।

बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रको जनधन एवं पूर्वाधारको आपतकालीन संरक्षणका लागि आवश्यक सूचना संकलन गरी काम गर्न मन्त्री पुनले निर्देशन दिएका छन् । विपद व्यवस्थापनसँग सम्बन्धित निकायसँग समन्वय गरी ती निकायसँग निरन्तर सम्पर्कमा रहन पनि उनको निर्देशन छ ।

सम्भावित विपद जोखिम न्यूनिकरण गर्न सामुदायिक एफएम लगायतका मिडियाबाट मनसुनपूर्वतयारी प्रचारप्रसार गर्ने गराउने निर्देशनमा उल्लेख छ । यस्तै, प्रदेश, स्थानीय तह तथा जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गर्ने र सम्भावित जनधनको क्षति रोक्नुपर्ने उनको भनाइ छ ।

उल्लेखित सबै काम गर्न आवश्यक वित्तीय स्रोत अर्थ मन्त्रालयबाट उपलब्ध गराउन अनुरोध गरिने मन्त्री पुनले बताएका छन् । समितिले तयार गरेको प्रतिवेदन तथा कार्यान्वयन प्रक्रिया सचिवस्तरीय निर्णयबाट कार्यान्वयन हुने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement