काठमाण्डु- माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टी २०८४ को निर्वाचनसम्म प्रमुख प्रतिपक्षी दलको भूमिकामै रहने बताएका छन् ।
प्रेस सेन्टर कैलालीले धनगढीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाएकोले आफूहरू प्रतिपक्षमै बस्ने बताएका हुन् ।
अब एमालेसँगको सहकार्यको सम्भावना समाप्त भएको पनि पुनले बताए । उनले भने, ‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ । तर एमाले त्यो होइन रहेछ, २०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन ।’
ओलीले दुईपटक धोका दिएको आरोप लगाउँदै उनले ओलीबाट तेस्रोपटक धोका खाने पक्षमा नरहेको बताए । उनले माओवादीले अब आगामी निर्वाचन आफ्नै बुतामा लड्ने र कसैसँग पनि गठबन्धन नगर्ने उल्लेख गरे ।
उपमहासचिव पुनले सरकारले संसद् छलेर अध्यादेशबाट शासन गर्नु गलत भएको टिप्पणी गरे । उनले अहिले ल्याईएका अध्यादेश राष्ट्रियसभाबाट अस्विकृत हुनसक्ने आशंका व्यक्त गरे । राष्ट्रियसभामा आफ्नो दल सबैभन्दा ठूलो भएकोले एकीकृत समाजवादीले पनि विपक्षमा मत जाहेर गरेको र अरु साना दलले पनि साथ दिँदा अध्यादेश अस्विकृत हुने उनको दाबी छ ।
प्रतिक्रिया