बास्केटबल लेजेण्ड कोब ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु


एजेन्सी – विश्व बास्केटबल लेजेण्ड कोब ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उक्त दुर्घटनामा उनकी छोरी जियानासहित ९ जनाको मृत्यु भएको छ ।

ब्रायन्ट सवार निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना भएको हो । ब्रायन्ट सवार हेलिकप्टर आगलागी भएपछि दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लस एन्जलस प्रहरीका अनुसार हेलिकप्टरमा रहेका सबै ९ यात्रुको मृत्यु भएको छ । ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियनाको मृत्यु भएको खुले पनि अन्यको नाम सार्वजनिक गरिएको छैन ।

४१ वर्षीय ब्रायन्टले पाँच पटक एनबीएको उपाधि जितेका थिए । उनलाई यस खेलकै लेजेण्डमध्ये एक मानिन्छ । व्यवसायिक बास्केटबल करिअरमा २० वर्ष एलए लेकर्समै बिताएका ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए ।

उनी ३४ वर्षको उमेरमा ३० हजार करिअर पोइन्ट पुग्ने सबैभन्दा कान्छा खेलाडी थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई दुःखद समाचार भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement