प्रेस युनियनले मन्त्री बाँस्कोटाका सबै कार्यक्रम बहिष्कार गर्ने


काठमाडौं – नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको कार्यक्रम बहिष्कार गर्ने बताएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले मिडियालाई नियन्त्रण गर्ने नियतले संसदमा मिडिया काउन्सिल विधेयक पेश गरेकोले बाँस्कोटा सहभागी हुने औपचारिक कार्यक्रम बहिष्कार गर्ने प्रेस युनियनको निर्णय छ ।

आइतबार युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने सञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।’

सरोकारवाला पक्षसँग एक पटक पनि छलफल नगरी र सहमति बेगर नै सरकारले मिडिया विधेयक ल्याएको भन्दै युनियन आन्दोलनमा उत्रेको छ ।

युनियनले जेठ २ गते देशैभर मिडिया नियन्त्रण गर्न खोज्ने सरकारविरूद्ध प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।

सरकारले दर्ता गरेको विधेयकको विरोधमा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ पनि आन्दोलनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement