अख्तियार प्रमुख बस्न्यातको किर्ते काम : बेनामी उजुरी हालेर बस्नेतले सच्याए आफ्नै जन्ममिति


काठमाडौं-प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता विवाद चुलिएको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात पनि जन्ममिति सच्याउनेकै सूचीमा रहेको तथ्य खुलेको छ । नागरिकतामा तीन वर्ष कान्छीबहिनी भगवती बस्न्यात कोइरालाभन्दा प्रमुखआयुक्त बस्न्यात सात महिना कान्छो देखिएपछि यो तथ्य बाहिर आएको हो ।

प्रमुखआयुक्त बस्न्यातले भारतबाट अध्ययन गरेर ल्याएको प्रमाणपत्रको आधारमा बहिनीभन्दा कान्छो हुनेगरी दोहोरो नागरिकता बनाएका हुन् । प्राप्त सरकारी तथ्यांकमा बस्न्यात उनकी तीन वर्ष कान्छी बहिनी भगवतीभन्दा सात महिना कान्छो देखिएका छन् । २ फागुन ०६ सालमा जन्मिएका प्रमुख आयुक्त बस्न्यातले पछि २ फागुन ०९ सालको मिति राखेर नागरिकता बनाएको सरकारी तथ्यांकले देखाउँछ । तर, उनकी बहिनी भगवती बस्न्यात कोइराला ५ साउन ०९ सालमा जन्मिएको उनको नागरिकतामा रहेको छ । यो तथ्यले दाजु–बहिनीको जन्मान्तर सात महिना देखिन्छ । त्यो पनि बहिनीभन्दा दाजु कान्छो ।

बस्न्यातका समकालीनहरूका अनुसार उनले स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र भारतबाट ल्याएपछि नागरिकताको जन्ममिति अदलबदल भएको हो । आफै अख्तियारमा रहेको वेला ०५४ सालमा आफ्नैविरुद्ध बेनामे उजुरी हालेर आफैले सत्यतथ्य बुझ्ने पत्र बनाई प्रमाणपत्र र नागरिकताको केस मिलाइएको स्रोतको भनाइ छ । स्रोतकाअनुसार बेनामे उजुरीपछि बस्न्यात आफैले पढेको भनिएको विश्वविद्यालयबाट रेकर्ड रहेको भन्ने पत्र ल्याएर केस मिलाएका थिए । ‘आफै अख्तियारमा रहेको वेला बेनामे उजुरी हाल्न लगाएर भारतीय प्रमाणपत्र र दोहोरो जन्ममितिको केस मिलाए’, अख्तियारकै एक आयुक्तले भने ।

लोकमानकै बाटो

नागरिकतामा मात्रै होइन, अख्तियार प्रमुखको रूपमा काम सम्हालेदेखि बस्न्यातले सर्वोच्च अदालतको आदेशबाट बर्खास्तगीमा परेको लोकमानसिंह कार्कीकै बाटो अबलम्बन गरेको आयुक्तहरूको गुनासो छ । बस्न्यातको लोकमान कार्यशैलीकै कारण देशलाई सुशासनको बाटोमा हिँडाउन र भ्रष्टाचार रोक्न गठित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग यतिवेला फेरि बदनाम बनेको गुनासो आयुक्तहरूले गर्ने गरेको स्रोतले बतायो । लोकमानसिंह कार्कीले आयोगलाई धन थुपार्ने सबैभन्दा बद्नाम अड्डाका रूपमा परिणत गरेकै कारण उनको दुःखान्त बहिर्गमन भएको थियो । त्यसलगत्तै प्रमुख बनेका बस्न्यातले झनै साइलेन्ट किलरका रूपमा धन थुपार्ने काम गरेको स्रोतले बतायो ।

स्रोतकाअनुसार देशका ठूला आयोजना तथा विदेशी कम्पनीबाट प्राप्त हुने आयकरमासमेत छुट दिलाएर त्यसको आधा हिस्सा असुल्ने प्रवृत्तिको सबैभन्दा जल्दाबल्दो उदाहरण हो, एनसेल प्रकरण । त्यस्तै कर फस्र्योट आयोग बनाएर लाइन मिलाई कर छली गर्ने अर्को प्रपञ्च बस्न्यातले गरेका छन् । लोकमानको बहिर्गमनपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निकै ठूलो जोडबलमा अख्तियार प्रमुख बनेका बस्न्यातले मुलुकलाई त कुनै गुन लगाएनन्, उल्टो लोकमानपथमै हिँडेर देशवासीलाई नै निराश बनाए ।

सधैँ मालदार अड्डा

उमेर घटाएर लिएको नागरिकताका आधारमा २९ माघबाट अनिवार्य अवकाश पाउन लागेका अख्तियार प्रमुख बस्न्यातको जागिरे जन्मकुण्डली निकै रोचक छ । जागिरमा प्रवेश गरेका दिनदेखि अवकाशसम्म आइपुग्दा बस्न्यात सधैँ आर्थिक चलखेल हुने शाखा, विभाग र मन्त्रालयमा मात्र बसेका भाग्यमानी हुन् । बस्न्यात सरकारी जागिरमा ०३२ सालमा लेखाअधिकृतका रूपमा प्रवेश गरेका थिए । उनी ०३२ साल असार ३२ देखि ०३७ साल असार १९ सम्म कोहलपुर बनवासा सडक परियोजना र दमक परियोजनामा लेखाअधिकृतका रूपमा काम गर्न पाउने पञ्चायतकालीन भाग्यमानी कर्मचारी बने । ०३७ देखि ०३९ सालसम्म ताप्लेजुङमा मालपोत अधिकृतका रूपमा रहे ।

त्यसलगत्तै सिरहाको लहान कर कार्यालयका प्रमुख करअधिकृत भएर ०३९ देखि ०४१ सम्म रहे भने लहानबाट झापाको प्रमुख मालपोत अधिकृत बने । यस्तै, ०४१ देखि ०४३ सालसम्म झापामै छँदा तत्कालीन पञ्चहरूलाई रिझाएर सोझै त्रिभुवन विमानस्थलको प्रमुख भन्सार अधिकृतका रूपमा ०४३ देखि ०४५ सम्म कायम रहे । अर्को चार वर्ष उनले भन्सार विभागको उपनिर्देशक हुने अवसर फेला पारे ।

छोटो अवधि सामान्य प्रशासन मन्त्रलाय पुगेका बस्न्यात तत्कालै स्थानीय विकास मन्त्रालय सरुवा भएर उपसचिवका रूपमा काम गर्ने तारतम्य मिलाएर दुई वर्ष राइँदाइँ गरे । सरुवा हुनुपर्ने अवस्थामा छोटो अवधि जम्मा नौ महिनाजति सूचना विभागमा पुगेका उनले ०५२ देखि ०५४ सम्म कलकत्ताको महावाणिज्य दूतावासमा मोज गर्न पाए । कलकत्ताको दुई वर्षे अवधिपछि उनी अर्को दुई वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आएर उपसचिवका रूपमा बस्न सफल भए ।

बढुवा भएर छोटो समय मन्त्रालयमा सहसचिवका रूपमा रहेका उनी सबैभन्दा कमाउधन्दा मानिने अर्को अड्डा श्रम विभागको महानिर्देशक भएर ०५६ देखि ०५८ सम्म बस्न भ्याए । तत्कालीन दरबार र कांग्रेसको चाकडीमा लागेर अर्को तीन वर्ष ०५८ देखि ०६१ सम्म राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने अवसर पनि उनैले पाए । राजस्व अनुसन्धान विभागबाट अर्थ मन्त्रालयमा आएर अर्को दुई वर्ष मोज गरे भने अर्को एक वर्ष आन्तरिक राजस्व विभागको प्रमुख बन्न सफल भए ।

न्तरिक राजस्व विभागमा कमाएका उनले फेरि महालेखा नियन्त्रकका रूपमा काम गर्न भ्याए । त्यसलगत्तै ६ महिनाजति पूर्वाञ्चलको क्षेत्रीय प्रशासक भएका बस्न्यात झन्डै दुई वर्ष ०६६÷६७ मा भौतिक योजना मन्त्रालयको सचिव भएर आर्थिक चलखेल राम्रै गरे । केही समयपछि उनी कांग्रेसी कोटामा भ्रष्टाचार गर्ने लाइसेन्स मानिएको अख्तियारमा आइपुगे । लोकमानको उदयसँगै बस्न्यात कार्कीका मुख्य योजनाकार बने । त्यही योगदानको कदर गर्दै कांग्रेसकै सिफारिसमा बस्न्यातलाई अख्तियारको प्रमुख बनाइयो चुनाव खर्चको जिम्मा लिनेगरी ।

आफैलाई थाहा छैन सम्पत्ति

खोटाङको छोरम्बु गाविस–७ मा जन्मिएका बस्न्यात सुरुमा सरकारी सेवामा प्रवेश गर्दा आर्थिक अवस्था अत्यन्तै कमजोर देखाएका थिए । तर, अहिले बस्न्यात आपैmँलाई नै आफूले जोडेको सम्पत्तिको एकिन जानकारी छैन । उनको जीवनशैली र सम्पत्ति निकै अपत्यारिलो देखिन्छ । काठमाडौंको मुटु बानेश्वरमा सात रोपनीभन्दा बढी जग्गामा तीन वटा घर, आधा दर्जन सुरक्षा गार्ड र सुसारेका साथमा उनको जिन्दगानी चलेको छ । त्यसका अलवा उनको काठमाडौंकै मन्डिखाटारमा दुई रोपनी जग्गामा आलिसान घर छ । त्यो घर भाडामा लगाएका छन् । यस्तै उदयपुरको रातमाटेमा दुई बिघाभन्दा बढी जग्गा जोडेका छन् ।

अझ रमाइलो बस्न्यातका छोरा कमल बस्न्यात जम्मा २२ लाख पर्ने बिएमडब्लु बाइक र तीन करोड बराबरको डिस्कभरी गाडी चढ्छन् । बस्न्यातले सुपुत्रलाई दिएको झन्डै ५० लाख पर्ने चस्मा उपहार छोरा कमलको साथीभाइमाझ विशेष सान बनेको छ । अख्तियार प्रमुखले जाबो ५० लाखको चस्मा उपहार कुन ठूलो कुरा भयो र रु भन्दै कमलका साथीहरूले जोक नै बनाएका छन् ।

स्रोतका अनुसार बस्न्यातले आफ्ना परिवारका नामबाट खासै नाम नसुनिएको नक्साल ब्यांकेट चलाएर करोडौँ नाफा देखाउँदै राज्यलाई करसमेत तिर्ने गरेका छन् । ब्यांकेटको कुनै आम्दानी नभए पनि कालो धन सेतो पार्न यस्तो गरिएको अख्तियारकै एक अधिकृतले बताए । अख्तियार स्रोतकाअनुसार बस्न्यातले जतिजति धन आर्जन गर्दै गए, त्यतित्यति धार्मिक बने । तन्त्र, मन्त्र र भाग्यमा विश्वास गर्ने यात्री बन्दै गुरु, पण्डित र पण्डाहरूकहाँ चिना देखाउन नपुगको ठाउँ नै बाँकी छैन ।

पूर्वराजा ज्ञानेन्द्रलाई पहिलो अभिनन्दन गर्ने स्वामी कमलनयानाचार्यदेखि अन्डा फोडेर टाउकोमा मन्साउने देउवाका भक्तपुरे तान्त्रिक हुँदै उनी खुलामञ्च अघिल्तिर बस्ने ज्योतिषीकहाँसम्म चिना देखाएर भाग्य बलियो पार्ने अभियान जारी राखे । विवादास्पद व्यापारी तथा टुप्पी सौखिन अजेयराज सुमार्गीको कालो धन छुटाउनमा समेत लोकमान सिंहसँगै बस्न्यातलाई तिनै सुमार्गीले विभिन्न ज्योतिषघाटमा पु¥याउने गरेका थिए ।

अब राजदूतको चाहना

आगामी २ फागुनमा उमेरहदका कारण पदावधि सकिन लागेका बस्न्यातले अवकाशको जीवनमा राजदूत हुने तीव्र इच्छा पालेर नयाँ शक्ति केन्द्र धाउन थालेका छन् । उनी आजकल खुमलटार धाइरहेको उनकै सहकर्मी बताउँछन् । आजको सौर्य दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement