पूर्वउपकुलपतिहरुले भनेः बी एण्ड सीलाई सम्बन्धन दिन सरकारले दबाब दिनु दुर्भाग्य


काठमाण्डु – त्रिभूवन विश्वविद्यालयका पूर्वउकुलपतिहरूले झापास्थित दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारले दबाब दिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै १२ जना पूर्वउपकूलपतिहरुले काठमाण्डु विश्वविद्यालयबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा अ‍ोली र शिक्षामन्त्रीले दबाब दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘काठमाण्डु विश्वविद्यालयले चिकित्साशिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्साशिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन एवं कानूनी राज्यको उपेक्षा गर्नुमा अलिकति पनि नहिचकिचाउनु ठूलो दुर्भाग्यको कुरा हो ’, विज्ञप्तिमा भनिएको छ ।

उपकूलपतिहरुले डा. श्रीकृष्ण गिरीको जायज अडानका कारण उनीमाथि गम्भीर धम्की उल्लेख गर्दै त्यसबाट हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने बताएका छन् ।

विज्ञप्तिमा डा. गिरीको सुरक्षा र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधिपूर्वक काम गर्न दिन माग गरिएको छ ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जङ्ग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले सामूहिक विज्ञप्ति जारी गरेर यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement