यूएस बङ्गला विमान दुर्घटना : छानबिन गर्न बङ्गलादेशका एएआईजी प्रमुख नेपालमा


काठमाडौँ – यूएस बङ्गला विमान दुर्घटनाका विषयमा छानबिन गर्न बङ्गलादेशको विमान दुर्घटना छानबिन समूह (एएआईजी–बीडी)का प्रमुख कप्तान सलाउद्दीन एम रहमतुल्लाह नेपाल आएका छन् । ‘आज म नेपाल जाँदै छु । हामी विमानकोे ब्ल्याक बक्सको परीक्षणलाई प्राथमिकता दिँदै छौं’, नेपाल आउनुअघि सलाउद्दिनले ढाकामा बङ्गला ट्रिब्युनमा भने, ‘ककपिटबाट भएको अन्तिम संवादको समीक्षा गरेपछि आवश्यक जानकारी एकत्र गरिनेछ ।’ नेपालले यूस–बङ्गला विमान, यसका पाइलट तथा सहपाइलटसँग सम्बन्धित सम्पूर्ण जानकारी चाहेको थियो ।

यसै सम्बन्धमा कप्तान सलाउद्दिन नेपाल आएका हुन् । नागरिक उड्डयन सूत्रअनुसार नेपालले पहिले नै विमानको खरिद र मर्मत, पाइलटको लगबुक एवम् लाइसेन्ससँग सम्बन्धित जानकारी तथा सहचालकको उडान अनुमतिसम्बन्धी अभिलेख मागेको छ । नागरिक उड्डयन प्राधिकरणमा दुर्घटनाको जाँचबारे छलफल गर्न शनिबार बैठकसमेत बसेको थियो ।

क्याप्टन सलाउद्दीनसँगै नागरिक उड्डयन प्राधिकरण (फ्लाइट सेफ्टी एन्ड रेगुलेसन) बङ्गलादेशका निर्देशक विङ कमान्डर चौधरी एम जियाउल कबीर तथा अन्य एएआईजी सदस्यहरु पनि बैठकमा सहभागी थिए । सलाउद्दीनले भने, ‘नेपालले दुर्घटना छानबिन पूरा गर्न आवश्यक जानकारी मागेको छ, म ती सबै जानकारी सहित नेपाल जाँदै छु ।’ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्गलाको विमान दुर्घटना हुँदा १२ मार्चमा २६ जना बङ्गलादेशीसहित ४९ जना व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement