नक्कली भुटानी शरणार्थी प्रकरण : झाको सरकारी वकीलसमक्ष इन्कारी बयान

नक्कली भुटानी शरणार्थी प्रकरण : झाको सरकारी वकीलसमक्ष इन्कारी बयान


काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेका बेचन झाले आफूले चेक लिएको इन्कार गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग झाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएका झाको सरकारी वकीलले लिने बयान बुधबार पूरा भएको छ । १४ असारमा पक्राउ परेका झाले बयानमा उल्लेख गरेको कुरा उध्रीत गर्दै ती अनुसन्धान अधिकृतले भने, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला । मैले यस प्रकरणमा कसैलाई भेटेको पनि छैन । मिडियाबाट मात्रै यस प्रकरणबारे जानकारी पाएको हुँ ।’

वीरगन्ज उपमहानगरपालिका–७ का बासिन्दा झाले टोखा नगरपालिका–६ धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

शरणार्थी प्रकरणका प्रतिवादी सानु भण्डारी र रामशरण केसीले यसअघि नै सरकारलाई मिलाउन भन्दै झालाई दुई करोडको चेक दिएको बयान दिएका छन् । प्रतिवादी केसीले नयाँ बानेश्वरस्थित ह्वाइट हाउस क्याम्पस नजिक भेटेर झालाई चेक दिएको दाबी गरेका थिए ।

बेचनले राजधानीको थापागाउँमा सञ्चालन गरेको ‘विभांशु ब्रदर्श’ नामको कन्स्ट्रक्सन कम्पनीमार्फत विद्युतको ठेक्का लिने गरेका थिए । २०५१ देखि उनी ठेक्कापट्टा गर्थे ।

आफू समाजसेवी भएको जिकिर गर्दै उनले प्रहरी अधिकृतहरूसँग नेपालका राजनीतिक दलका नेताहरूसँग चिनजान र सम्पर्क भने रहेको स्विकारेका छन् ।

उनीविरुद्ध सङ्गठित रूपमा ठगेको कसुरमा म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।