विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीमा जुटन् प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। जल तथा मौसम विज्ञान विभागले आँधि, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन्।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा बोल्दै उनले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराएका थिए।

विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए। बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि आ-आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरुका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढी प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गरेका थिए।

गर्मीमा आगलागी, हावा-हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीत लहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्य मन्त्री राउतले जानकारी दिए।

बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ। प्रधानमन्त्री आफैं अध्यक्ष रहने सो परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृह सचिव सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement