भागरथी हत्या प्रकरणः नजिकका व्यक्तिमै शंका

भागरथी हत्या प्रकरणः नजिकका व्यक्तिमै शंका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ ।

प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।

‘घटनाको अनुसन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यसनजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्र्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले भने, ‘घटनायता अहिलेसम्म दुई दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निगरानीमा नै राखिएको छ ।’

विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदको ‘क्लोज रिङ’ बनाइएको उनले जनाएका हुन् । भागरथीले भारतीय र नेपाली सिमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्न भारतीय सिमकार्ड प्रयोग गरेको हुन सक्ने र त्यसतर्फ अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोगसमेत लिइने प्रहरी बताउँछ ।

प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरुदेखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोलीसमेत खटिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।