भानुभक्त आचार्यको भारत साइनो

भानुभक्त आचार्यको भारत साइनो

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ भन्छन्–रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर भानुभक्तले महान् काम गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भारतका नेपालीभाषी भएका सिक्किम, दार्जिलिङ लगायत क्षेत्रमा भव्य तरिकाले मनाउने गरिन्छ । सिक्किममा त भानु जयन्तीका दिन सार्वजनिक बिदा पनि दिइन्छ ।

भानु जयन्तीको सन्दर्भमा सिक्किमका पूर्वमुख्यमन्त्रीहरूले भानु जयन्तीलाई विशेष महत्त्व दिने गरेको बताउँछन् । भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ मनाइन्छ । नेपाली भाषालाई लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका आदिकविलाई यहाँ प्रख्यात कवि, अनुवादक र प्राज्ञका रूपमा हेरिन्छ ।

सन् १८१४ मा नेपालको तनहुँ जिल्लामा जन्मेका भानुभक्त आचार्यको यहाँ कुनै विस्तारित परिचयको आवश्यकता छैन । उनको मृत्यु केवल ५४ वर्षका उमेरमा सन् १८६८ मा भएको ठिक २० वर्षपछि मोतीराम भट्टले उनलाई नेपाली साहित्यका आदिकवि भनेर पुनः जीवित बनाइदिए । उनका अनूदित ‘रामायण’ले तत्कालीन नेपाली संसारमा विविध प्रसङ्गहरू जोड्दै गयो । फलस्वरूप राजनीतिक सिमानाले अलग राखेका नेपाली भाषिक समुदायहरूबीच यसको प्रसङ्ग भने महत्वपूर्ण बनिन थाल्यो । यसै क्रममा नेपालबाहिर भारतमा पनि नेपाली बाहुल्य भएका विभिन्न स्थानहरूका सन्दर्भभित्र ‘व्यक्ति भानुभक्त’ र ‘पर्व भानु जयन्ती’ले विविध अध्ययनको दिशा पक्रेको देख्न पाइन्छ ।

भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्‍याउनु रहेको मानिन्छ । नेपाल र नेपालीभाषी भारतीय क्षेत्रमा भाषा तथा साहित्यमा उनको ठूलो प्रभाव छ ।

सिक्किममा ठूलो संख्यामा नेपालीभाषी भारतीय बस्छन् । उनीहरूका लागि भानु जयन्तीले विशेष महत्व राख्छ । यो दिनमा कैयौँ सांस्कृतिक र साहित्यिक कार्यक्रमको आयोजना गरिन्छ ।

भानुभक्तका रचना पाठ गरिन्छ । कविता प्रतियोगिता गरिन्छ । साङ्गीतिक कार्यक्रम गरिन्छ । उनका योगदानमाथि छलफल गर्न सभा सम्मेलन पनि गरिन्छ ।

स्कूल र कलेजमा पनि उनको सम्मानमा र नेपाली भाषा र साहित्यको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिन्छन् । त्यसैगरी नेपालीभाषीबहुल पश्चिम बङ्गालको दार्जिलिङमा पनि भानु जयन्ती निकै उत्साहका साथ मनाइन्छ ।

सांस्कृतिक समूहहरू, शैक्षिक संस्थाहरू र सामुदायिक संस्थाहरूले भानुभक्त आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गर्छन् । यी उत्सवले नेपाली समुदायको सांस्कृतिक पक्षको समृद्धि झल्काउँछन् र युवा पुस्तामा साहित्यिक भोक जगाउँछन् भन्ने आयोजकहरू ठान्छन् ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले भानु जयन्तीको प्रशंसा गर्दै भन्छन्, ‘भानु जयन्तीले गहिरो सांस्कृतिक महत्व बोकेको छ । रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर भानुभक्तले महान् काम गरेका छन् । भानुभक्त साहित्यकारका लागि मात्र प्रेरणाका स्रोत होइनन् । हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्न तथा अगाडि बढाउन दत्तचित्त रहौँ ।’

भारतमा सबैभन्दा लामो समय मुख्यमन्त्री रहेका विपक्षी नेता पवन चामलिङले भानुभक्तका कृतिबारे भन्छन, ‘भानुभक्तले सबैले बुझ्ने नेपाली भाषामा रामायण लेखेर एउटा नयाँ दिशा दिएका थिए । ‘लोकको गरुँ हित’ भन्ने उनको कविता सामाजिक कल्याणका लागि समर्पित थियो । भानु जयन्ती मनाउनु भनेको हाम्रा सबै लेखकको सम्मान गर्ने अवसर पनि हो ।’

गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) का प्रमुख कार्यकारी अनित थापाले भानु जयन्तीले समुदायको पहिचान जोगाउन भाषा र संस्कृतिको महत्व दिएको बताउँछन् ।

सिक्किममा भानु जयन्तीका दिन सार्वजनिक बिदा दिइन्छ । स्थानीय सरकारले भव्य रूपमा मनाउन सार्वजनिक ¥याली आह्वान गर्छ । नेपाली संस्कृति झल्काउने पहिरनमा मानिसहरू र्‍यालीमा सहभागी हुन्छन् । उनीहरू नाचगान गर्छन् ।

विश्वभरि रहेका नेपालीभाषी समुदायमा आदिकवि भानुभक्त आचार्यको ठूलो प्रभाव रहेको मानिन्छ । उनको साहित्यिक योगदानले नपाली भाषा र संस्कृतिलाई धनी बनाएको र आगामी पुस्तालाई पनि प्रेरणा दिने ठानिन्छ ।

भारत स्वतन्त्र भएको लगभग एक वर्ष १० महिना पछि १७ जून १९४९ मा दार्जीलिङको चौरस्तामा भानुभक्तको सालिक उद्घाटन भयो । पश्चिम बंगालका तत्कालीन राज्यपाल डा.कैलाशनाथ काट्जुले भानुभक्तलाई नेपाल र नेपालीहरूका मात्र महान कवि नभएर विशाल भारतवर्षकै कवि भएकोे भनेका थिए ।

सन् १९३९ मा सूर्यप्रसाद ज्ञवालीले ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित गरेर तत्कालीन भारतीय परिदृश्यमा भानुभक्तको स्थान निर्धारण गरिदिएका हुन् ।