भारतको महाराष्ट्रमा दुई बस ठोक्किँदा ६ जनाको मृत्यु, २१ घाइते


बुलढाना – महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २१ जना घाइते छन् । राष्ट्रिय राजमार्गमा आरामदायी वर्गका दुई बस एकापसमा ठोक्किँदा उक्त हताहती भएको जिल्ला प्रहरी कार्यालयका अधिकृत एचपी तुम्मोडले बताए ।

अधिकृत तुम्मोडका अनुसार दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक यात्रीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । अरू घाइते यात्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बुलढाना जिल्लाको मलकापुर नगरस्थित रहेको रेलवे पुलमा अमरनाथ यात्राबाट हिंगोलीतर्फ गइरहेको बस र नागपुरबाट नासिकतर्फ गइरहेको अर्को बस एकापसमा ठोक्किएका थिए । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement