नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत उत्सुक


काठमाण्डु- भारत सरकारले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अरिन्दम बाग्चीले हालै नेपालमा गठन भएको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन्।

नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रचण्डको नेतृत्वमा बनेको सरकार र राजनीतिक परिस्थितिका बारेमा एक सञ्चारकर्मीको जिज्ञासाको जवाफमा प्रवक्ता बाग्चीले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनेबित्तिकै हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभयो । नेपालका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई जवाफ दिइसक्नुभएको छ ।’

दुई देश बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उनको भनाइ छ । नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने पक्षमा रहेको उल्लेख गर्दै उनले भने, ‘दुई देशका बीचमा रहेको अद्वितीय एवं सांस्कृतिक सम्बन्धलाई बढावा दिँदै मिलेर काम गर्ने आशा राखेका छौँ । द्विपक्षीय सम्बन्धलाई बढाउने कुरामा हामी कुनै कमी हुन दिँदैनौँ ।’

प्रवक्ता बाग्चीले यसअघि नै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर रहेको बताइसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement