स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड सहयोग प्रदान


काठमाण्डु – नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चार वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

धादिङ जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याएका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने दूतावासले जनाएको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सोही प्रतिबद्धता अनुरूप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।

बाँकी परियोजनाहरू बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ । यी स्वास्थ्य संरचनामा ओपिडी, डिस्पेन्सरी, औषधी भण्डारण कक्ष, एन्टीपोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्सा घर, अपाङ्गमैत्री सरसफाइ संरचना रहनेछन् ।

स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि नेपाल सरकारसँग मिलेर काम गरिरहेको भारतले सन् २००३ देखि हालसम्म साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर/स्वास्थ्य चौकी निर्माण सम्पन्न गरिसकेको छ । सन् १९९४ देखि भारत सरकारले विविध सरकारी, गैरसरकारी/गैर नाफामूलक संस्थालाई ८२३ भन्दा बढी एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ ।

दीर्घकालीन, अटल, अतुलनीय र बहु आयामिक प्रकृतिको नेपालसँगको विकास साझेदारीलाई भारत सरकार सदैव निरन्तरता दिन प्रतिबद्ध रहेको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement