काँग्रेसको प्रश्नः कारागारमा आगो लगाएर ‘रुफ टप’ गाडीमा हात हल्लाएर हिंड्नेमाथि कहिले कारबाही हुन्छ ?

काँग्रेसको प्रश्नः कारागारमा आगो लगाएर ‘रुफ टप’ गाडीमा हात हल्लाएर हिंड्नेमाथि कहिले कारबाही हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काँग्रेसले २३ र २४ भदौको जेनजी नवयुवाको आन्दोलनमा घटेका घटनामा राष्ट्रिय मानव अधिकार आयोगले दोषी किटान गरेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुमाथि कारबाहीको माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काँग्रेस सांसद् भरतबहादुर खड्काले प्रतिवेदनले दोषी ठहर गरेका सुधन गुरुङ पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्किएको भन्दै आपत्ति जनाए ।

रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले कारागारमा आगो लगाएर बाहिर निस्किएको र ‘रुफ टप’ गाडीमा हात हल्लाउँदै हिंडेको विषयमा उनीमाथि कारबाही हुनुपर्ने जिकिर गरे ।

‘मानव अधिकार आयोगकोे प्रतिवेदनले दोषी ठहर गरेका गृहमन्त्री सत्ताको कुर्सीमा बसिरहनुभएको छ । प्रतिवेदनमा प्रभावशाली र होनाहार माननीयहरुको नाम पनि समावेश भएको छ’, खड्काले भने, ‘कारागार जलाएर ‘रुफ टप’ गाडीमा हात हल्लाउँदै हिंड्नुभएको माननीयज्यूहरु पनि आयोगको प्रतिवेदनले समावेश गरेको छ । सभामुखमार्फत म सरकारलाई सोध्न चाहन्छु उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ ? प्रतिवेदनको नाम समावेश गरेका वरिष्ठ माननीयहरुलाई कानूनी सम्मान कहिले मिल्छ ?’


सुशासन कायम गर्ने भन्दै सार्वजनिक गरेको सय बुँदे कार्यविधिमा हप्ता दिनभित्रै भदौ २४ को घटना छानबिन गर्न आयोग बनाउने प्रतिबद्धता किन पुरा नभएको भन्दै सरकारसँग खड्काले प्रश्न गरे ।

खड्काले सम्पत्तिलगायत विषयमा प्रश्न उठेपछि राजीनामा दिएका सुधन गुरुङलाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदै पुनः गृहमन्त्री बनाएर सरकारले आफैंले भन्ने गरेको सुशासनको खिल्ली उडाएको आरोप लगाए ।


‘गृहमन्त्रीमाथि सम्पत्तिलगायत विषयमा प्रश्न उठेपछि समिति बनाइयो । उक्त प्रतिवेदन सार्वजनिक नभई उहाँलाई फेरि गृहमन्त्री किन बनाइयो ? एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नालाई पुरस्कृत गर्ने सरकारले सुशासनको गफ हाक्न छोडौं’, खड्काले भने ।

उनले आफ्ना मानिसहरुमाथि प्रश्न उठेका विषयमा ‘छलछाम आयोग’ बनाएर उन्मुक्ति दिने काममा सरकार लागेको आरोप खड्काको थियो ।