भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि एनओसी अनिवार्य


काठमाडौं – भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुका लागि नयाँ नियम लागु हुने भएको छ । भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा राजदूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको हो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित गरेको छ ।

यसरी दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिव कारणसहित निवेदन दिनुपर्ने छ । साथै यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाइ टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनुपर्ने छ ।

रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्विकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ ।

हाल भारतमा अध्ययन तथा व्यवसायी गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनुपर्ने छ ।

पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको संख्यामा वृद्धि भएसँगै भारतले नेपालीहरु माथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement