भरतपुर – भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ। महानगरपालिकाले गौरवको आयोजनाका रूपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्धारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो।
आयोजनाको बिहीबार महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरिन् । र्पर्यटकीय गतिविधिसँगै वन्यजन्तु उद्घारमा टेवा पुग्नेगरी पार्क निर्माण गर्न लागिएको उनले बताइन्।
प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्नेहरूका लागि पनि पार्क उपयोगी हुने बताइन्। उनले भनिन्, ‘तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ।’
वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले दुई करोड २३ लाख आठ हजार रूपैयाँ बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताए। सो क्षेत्रमा संग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने बताए।
प्रतिक्रिया