अझै केहि दिन भारी बर्षा, बाढी पहिरोबाट सचेत हुन आग्रह


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशका कतिपय भागमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  सोमबार देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले सबैलाई सचेत गराएको छ ।

वर्षाका कारण देशको पहाडी भू–भागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । यस्तै हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनि गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् । अहिले देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको उनले बताएका छन् ।

अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाले आउँदो तीन दिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement