रुकुम पूर्व–रोल्पा जिप दुर्घटना : २० जनाको मृत्यु, पहिचान अझै खुलेन

रुकुम पूर्व–रोल्पा जिप दुर्घटना : २० जनाको मृत्यु, पहिचान अझै खुलेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रुकुम पूर्वको रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप बिहीबार दुर्घटनामा पर्दा २० जनाको ज्यान गएको छ। दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृतकमध्ये ४ बालक, ४ पुरुष र १२ महिला रहेका छन्। दुर्घटनामा एक जना घाइते भएका थिए, जसलाई रुकुम पूर्व जिल्ला अस्पतालबाट उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रारम्भिक विवरणअनुसार जिप सडकबाट करिब ८ सय मिटर तल खोंचमा खसेको थियो। घटनास्थल दुर्गम र अप्ठेरो भूभागमा भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सुरक्षाकर्मीहरूले शव निकाल्न बाटो बनाउने काम गरिरहेको र डोरीको सहायताले शव निकाल्ने तयारी भइरहेको जानकारी दिए।

स्थानीय प्रशासनका अनुसार दुर्घटनामा परेको जिपसँगै अघि–पछि अन्य जिपहरू पनि गइरहेका थिए। तर कुन जिपमा को–को सवार थिए भन्ने स्पष्ट विवरण नहुँदा मृतकको सनाखतमा समस्या भएको छ।