काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको हो ।
उजुरीका आधारमा अनुसन्धान गर्दा उनको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
चौधरीको २०६५ पुस ११ गते नियुक्तिदेखि २०८२ असार २९ गतेसम्मको सम्पत्ति तथा आय–व्ययको विस्तृत अनुसन्धान गरिएको थियो।
अनुसन्धानबाट चौधरी तथा उनको एकाघर परिवारले जाँच अवधिमा तलब–भत्ता बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, घरबहाल, ब्याज, कृषि आय, कर्मचारी सञ्चय कोषको ऋण, व्यक्तिगत सापटी तथा बुबाको पेन्सनलगायत स्रोतबाट कुल २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा वैधानिक आय आर्जन गरेको देखिएको आयोगले जनाएको छ।
त्यसै अवधिमा जग्गा तथा घर खरिद, सवारी साधन खरिद, बीमा शुल्क, छोराछोरीको अध्ययन खर्च, बैंक ऋणको साँवा–ब्याज भुक्तानी, कम्पनीमा लगानी, विभिन्न व्यक्तिलाई बैंकिङ माध्यमबाट भुक्तानी, कर्मचारी सञ्चय कोषको ऋण भुक्तानी, विद्युतीय उपकरण, शेयर, फर्निचर, घर निर्माण, ट्र्याक्टर तथा सुन खरिद र बैंक मौज्दातसमेत गरी कुल ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
उनकी श्रीमती अर्पना कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । चौधरी उपर २ करोड २६ लाख १३ हजार १२३.३६ रुपैयाँ बिगो मागदावी गरिएको छ ।




प्रतिक्रिया