मन्त्रालयले भन्यो– वीपी राजमार्ग दशैं अगाडि खुल्दैन

मन्त्रालयले भन्यो– वीपी राजमार्ग दशैं अगाडि खुल्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले आफूहरु दशैं अगाडि वीपी राजमार्ग खुल्ने अवस्था नरहेको निष्कर्षमा पुगेको बताएका हुन् ।

‘वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ । यो खण्डको लम्बाइ १८ किलोमिटर छ । त्यसमध्ये १२ किलोमिटर सडक रोशीको बाढीले बगाएको छ र त्यहाँ पहाड काटेर सडक बनाउन सक्ने अवस्था पनि छैन’ उनले भने ।

नदीमा पानीको बहाब कम भएपछि डाइभर्सन गरेर सडक सञ्चालन गर्ने प्रयास गरिने मन्त्रालयले बतायो । मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताए ।

यस्तै सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरु पुनर्निर्माण गर्न करिब २५ अर्ब लाग्ने जनाएको छ ।सम्पूर्ण सडक तथा पुलको संरचना पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने देखिएको जनाएको हो ।शर्माले भने, ‘क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी नै रहेकोमा हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे दुई देखि तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ भने क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले पनि वीपी राजमार्गमा अलपत्र गरेका गाडीहरुलाई भने कुनै उपाय लगाएर दशैं अगाडि नै सिन्धुली वा काठमाडौं ल्याउने विकल्पमा काम गर्ने जानकारी दिए ।