भीम रावलको व्यंग्य : शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसाे हाेला ?


काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयोगमाथि व्यङ्ग्य गरेका छन्।

आयोगले मंगलबार दलका शीर्ष नेताहरूमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएपछि नेता रावलले सामाजिक सञ्जालमार्फत् यस्तो व्यङ्गग्य गरेका हुन्।

रावलले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ ।’

आयोगले ‘नो नट अगेन’ नाममा बनेका विभिन्न फेसबुक ग्रुपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो। यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement