नेपालमा एमसीसी साेच्न पनि सकिँदैन : भीम रावल


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कुनै पनि हालतमा स्वीकार्य नुहने बताएका छन् ।

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा एमसीसी लागू हुने कुरा सोच्न नसक्ने बताए ।

‘नेपालमा एमसिसी लागू गर्ने कुरा मात्रै नभएर त्यसबारे सोच्‍नसमेत सकिँदैन’, रावलले भने, ‘नेपालको संविधान भन्दा माथि रहेको सम्झौता लागू भएमा भोलि अमेरिकाले चाहे अनुसारको कानुन बनाएर नेपालमाथि लगाउँछ ।’

अमेरिकाले प्रकाशित गरेको प्रतिवेदनमा एमसिसी इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंश भएको स्षप्टरूपमा खलासकेको पनि जानकारी दिए ।

‘अमेरिकाकै लिखित दस्तावेजलाई नमानेर आफू खुसी भनाइ व्यक्त गर्नुको अर्थ छैन’, उनले भने, ‘एमसिसी सम्झौता नेपालको संविधान विपरीत छ । यदि एमसिसी लागू भएमा भविष्यमा अमेरिकाले बनाउने कानुन नेपालले स्वीकार गर्नुपर्ने बाध्यता आइलाग्छ ।’

नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय एमसीसी अध्ययन समिति गठन गरेको छ । खनालको संयोजकत्वमा गठन भएको समितिमा विवादलाई स्थापित गर्ने नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement