नेपाल कम्युनिस्ट पार्टी प्रदेश ७ को कमाण्डर रावल कि भट्ट?


गोविन्द रोस्यारा
कैलाली– एमाले र माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर गठन भएकाे नेपाल कम्युनिस्ट पार्टीकाे प्रदेश नम्बर ७ को कमाण्ड कसले सम्हाल्ला भनेर बहस सुरु भएको छ।

नयाँ बनेको पार्टीको शक्तिशाली मानिने स्थायी कमिटीमा ७ नम्बर प्रदेशबाट दुई जना नेता मात्रै समेटिएका छन्। पार्टीको स्थायी कमिटीमा तत्कालीन एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल र तत्कालीन माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्ट मात्रै रहेका छन्।

केन्द्रीय सदस्यमा भने तत्कालीन एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, गरिमा शाह, लालबहादुर थापा, गणेश ठगुन्ना, महेश्वर पाठक, रामकुमार ज्ञवाली, भैरवबहादुर सिंह, प्रकाशबहादुर शाह, झपटबहादुर रावल, निरुदेवी जैरु, प्रेम आलेमगर, निरुदेवी पाल, नारदमुनी राना रहेका छन्।

तत्कालीन माओवादी केन्द्रबाट खगराज भट्ट मात्रै केन्द्रीय सदस्यका रुपमा दोहाेरिएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७ नम्बर प्रदेशको कमाण्ड सम्लाने जिम्मा पार्टीले कसलाई दिन्छ त्यो सबैको चासोको बिषय बन्न थालेको छ।

रावल र भट्ट सात नम्बर प्रदेशबाट कम्युनिस्ट आन्दोलनमा समकालिन नेता हुन्। सात नम्बर प्रदेशमा पनि अब पुरानो नेताहरुको गुट भत्किएर नयाँ टिम बन्ने नेताहरुले बताएका छन्।

बिगत लामो समयदेखि रावलसँग असन्तुष्ट बनेका खास गरी अछाम बाहिरका नेताहरुको ठूलो संख्या भट्ट खेमामा आउने र भट्टसँग रुष्ट रहेका तत्कालीन माओवादीका नेताहरु रावल खेमामा जान सक्ने बिस्लेषण हुने थालेको छ।

रावल निकट मानिएका एमाले नेता एवं प्रदेश सांसद कृष्णराज सुबेदीले पार्टी एकताले नेता कार्यक्रतामा नयाँ उत्साहा थपेको भएपनि ७ नम्बर प्रदेशबाट माथिल्लो कमिटीमा उचित प्रतिनिधित्व हुन नसकेको गुनासो गरे । उनले भने, ‘७ नम्बर प्रदेशमा पार्टीको कमाण्ड रावल वा भट्ट मध्ये एक जनाले सम्लाल्नेछन्। यदपी त्यो पार्टीले निर्णय गरे पछि मात्रै भन्न सकिन्छ।’

एकीकरण भएपनि पार्टी भित्रका गुटउपगुट अन्त्य हुन गाह्रो रहेको सुवेदीको विश्लेषण छ।

तत्कालीन माओवादी केन्द्रका नेता हरिराम चौधरीले पार्टी एकता पछि गुटउपगुट नरहने दाबी गरे। ‘पार्टी एकताको लक्ष्य समाजवादसम्म पुग्ने हो,’ उनले भने, ‘अब पनि यो विषयको उठान गर्नु कुनै हालतमा जायज हुँदैन ।’

नेता चौधरीले सात नम्बर प्रदेशमा पार्टीको नेतृत्व भट्ट वा रावलले पाउने बताए। दुबै जना क्षमता भएका र सिनियर नेता हुन तर, पार्टी एकताको भावना अनुसार सबैलाई मिलाएर लैजान सक्नेले नेतृत्व पाउने चौधरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस
Advertisement