त्रिशुली बाढीमा बाँचेका भिमसेनको आङै सिरिङ्ग हुने कथा

त्रिशुली बाढीमा बाँचेका भिमसेनको आङै सिरिङ्ग हुने कथा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–रसुवा कालिका गाउँपालिकाका भिमसेन अधिकारी (ओमप्रसाद) मैलुङस्थित निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना नजिकै होटल (खाजा पसल) चलाउँथे ।

१० भदौको बिनाशकारी बाढी आउँदा भिमसेन काममै थिए । बिहान ८ बजेर ५५ मिनेट जाँदा एक गाडी चालकले फोन गरेर त्रिशुलीमा भिषण बाढी आएको र स्याफ्रुबेसी बजार बगाएको सूचना दिए । ती चालकले यसअघिको भन्दा निकै ठूलो बाढी आएकाले तत्काल भागिहाल्न भने । भिमसेन आफ्नी छोरी, ज्वाईं र भान्जा लिएर बाहिर निस्किए र आसपास भएकाहरुलाई भाग्न भन्दै कराए । केही भागे, केहीले उनले भनेका कुरालाई गम्भीरतापूर्वक लिएनन् । जो भागे बाँचे, जो बसे उनीहरुलाई निमेष भरमै बाढीले निल्यो । सयौं मानिस आफ्नै आँखा अगाडि बगेको हेर्न उनी विवश भए ।

भिमसेनको भनाइ उनकै शब्दमा
होटलसँगै म कवाडी संकलनको काम पनि गर्छु । अघिल्लो दिन कवाडीको सामान आएको थियो । दिउँसो तौल गर्न भ्याइएन । बिहान ४ बजेसम्म लगाएर रातभर कवाडी जोखें । ४ बजे सुतेको, साढे ८ बजे मात्र ब्युँझिएँ । छोरी, म थियौं, ज्वाई र भान्जा थियौं । १० मिनेट पहिले हामीले बाढीको सूचना पायौं । ८ बजेर ५५ मिनेटमा समाचार पायौं होला । मेरो ज्वाईंको ट्रिपर चलाउने ड्राइभरले अत्तालिँदै फोन गरेर ‘दाई ठूलो बाढी आयो, स्याफ्रुको पुल बाढीले लग्यो । तपाईंहरु नबस्नुस्’ भन्नुभयो ।

बिहानको समय, घाम लागिरहेको छ, कतै पानी परेको छैन । बाढी कसरी आयो भन्ने पनि लाग्यो । पोहोर पनि तिब्बत हुँदै ल्हेन्दे खोलामा ठूलै बाढी आएको थियो । हाम्रो पसलमा आएको थिएन । तै पनि केहो केहो भन्ने लागेर सूचना पाउने बित्तिकै हतार-हतार पसल बन्द गरियो र माथि भीरतिर लागियो । त्यतिबेला सय मिटर माथि खोलो यसरी आयो कि खोलो बगेको थिएन, उडेको थियो । हामी भएको ठाउँ खोला किनारको खोँच हो । माथि डरलाग्दो डाँडो छ । पहरो, भीर, सहज अवस्थामा डोरी लगाएर चढ्नुपर्ने । त्यस्तो भीरमा हामी घाँसमा झुण्डिएर माथि गयौं । जति माथि गए पनि डर भने लागिरह्यो । पहिरोले तल खोल्दै गएको छ , हामी माथि । कतिबेला पहिरो आउँछ र बगाउँछ भन्ने भयो । खोलाबाट त बचियो, पहिरोले लाने भयो भन्ने भइरह्यो । हामी करिब ६० जना सँगै थियौं ।

तल फर्किएर हेर्दा एक घण्टासम्म खोला घटेको छैन । पाखा पखेरा पुरै हल्लिएको छ । १० रेक्टर स्केलको भूकम्प आएको जस्तो । रुख, बिरुवा हल्लिएको छ । हामीलाई त बाँचिएला भन्ने छँदै थिएन । खोलाबाट आइयो, पहिराले तान्छ भन्ने लाग्यो । तर, दिन सकिएको रहेनछ । बाँचियो । जुन भीरबाट हामी माथि चढ्यौं त्यो सम्झिँदा बाँच्ने आशा भएपछि मान्छेले जे पनि गर्ने रहेछ भन्ने लाग्यो । १० घण्टासम्म बिना पानी, बिना खाना हिंडियो । आकाशबाट परेको पानी मुख आँ गरेर थापियो, रुखको बुटाको पानीले मुख भिजाइयो ।

१० घण्टापछि एउटा घरमा पुगियो । पानी खायौं, घरका मान्छेले मकै भुटेर दिए । त्यो घरबाट थप एक घण्टा हिंडेपछि ग्राङ भन्ने ठाउँमा धुन्चेबाट स्याफ्रुबेसीतिर जाने सडकमा निस्क्यौं । शरीर भरि जुकाले टोकेको छ । घाउ नै घाउ छ । म त्यसै बिरामी थिएँ । जुकाले खाएर रगत धेरै बगेपछि हिंड्नै नसक्ने भएँ । सडकमा पुगेपछि मलाई लिन एम्बुलेन्स आयो ।

एम्बुलेन्सले कालिकास्थानसम्म ल्यायो । दुई दिनपछि पावर चाइनाको गाडीले हामीलाई रसुवाको कालिका गाउँपालिका–४ मा मेरो घरमा ल्याइदियो । फेरि चोकदे, फलाँटे हुँदै १६ घण्टा हिंडेर विदुर (नुवाकोट) को घरससम्म आइपुगें ।

मेरो आँखै अगाडि धेरै मानिस बगे । एउटा भाई आफ्नो साथीको खुट्टामा झुण्डिँदै थियो । तामाङ केटा हो । उसको साथीले धान्न सकेन । उसलाई बगायो । केही मानिस भागेपछि पनि पैसा झिक्न भनेर फर्किएर जाँदा बगेर गए । मेरो मैलुङको घरबेटीको बुहारीलाई नजाउ–नजाउ भन्दाभन्दै बाहिर निस्किएपछि पैसा लिन भनेर भित्र पसिन् । फेरि बाहिर निस्कन नपाउँदै बगायो ।

रसुवा जिल्लाको हाकु क्षेत्रमा पर्ने माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले विकास गरेको हो । चीनको पावरचाइना कम्पनीले माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङ, पावरहाउस, बाँधलगायत (सिभिल) संरचना निर्माणको ठेक्का लिएको छ । करिब ९.५ किलोमिटर लामो हेडरेस सुरुङ पावर चाइनाले नै बनाएको हो । मुख्ष्य निर्माणकर्ता भने दक्षिण कोरियाको दुसेन हेभी इन्डस्ट्रिज एन्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेड हो । दुसेन पनि भन्दो रहेछ ।

त्यसैले त्यहाँ दक्षिण कोरियाली, चिनियाँ र नेपाली कामदार थिए । पावर चाइनामा काम गर्ने धेरै चिनियाँ थिए । हाकुबेसीदेखिबाट हाम्रो होटल भएको ठाउँसम्म गरेर उनीहरुको स्टाफ १८ सय जना हो । प्रोजेक्ट ६ महिनाभित्र सकाउने भनेर उनीहरुले हालसालै मात्र ७ सय मान्छे थपेका थिए । सबै गरेर २५ जनाजति थिए होलान । एउटा सेक्युरिटी गार्ड बाँचे । पावर चाइनाका मेरो पसल अगाडि ३ सय थिए । केही मात्र बाँचे सबै परे । नेपालीहरु पनि धेरै थिए ।

धेरै जिल्लाका नेपाली त्यहाँ काम गर्थे । सुरुङभित्र ड्युटी हुनेहरु भित्रै पुरिए । बिहान ९ बजेबाट ड्युटी चालु हुन्छ । सबै आफ्नो काममा जान लागेका थिए । कोही नाइट ड्युटीबाट लेबर क्याम्पमा आउँदै थिए । मैलुङ बजार एरियामा मात्र झण्डै सयमा ९० प्रतिशत मानिस गए । बाँकी १० प्रतिशत बाँकी थिए होला । हाम्रो भन्दा दुई किलोमिटर माथि भाँगे झरना भन्ने छ । धेरै मानिस घुम्न आएका हुन्छन्, त्यहाँ कति परे कुनै लेखाजोखा छैन । गोसाईंकुण्ड हिंडेकाहरु बोकेका ५ वटा जति बस त्यहीबाटो केही बेरअघि मात्र गएका थिए ।

श्रीमती सँगै भएको भए म पनि नबाँच्ने रहेछु । मेरो श्रीमती भाइको सासुको बोन म्यारो प्रत्यारोपण गर्न इण्डिया गएको समय परेको भएर हामी बाँच्यौं । मेरो बुढीको शरीर ठूलो छ । उनी छिटो हिंड्न सक्दिनन् । म बुढी छाडेर भाग्ने कुरा आउँथेन । बुढी बचाउन खोज्दा हामी दुवै सँगै सिद्धिन्थ्यौं ।

हामी बसेको एरियामा सबै गरी ४ हजार मान्छे थिए । सिर्फ ५ सय मान्छे मात्र बाँचेका होलान् । अरु सबै मरे । म चाहिं कसरी कसरी बाँचे । अहिले पनि सपना जस्तो लागिरहन्छ…